भीमदत्त नगरपालिकाले दैनिक तीन लाख राजस्व गुमाउँदै

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीको रोयल्टी सङ्कलन विवाद अदालतमा पुगेपछि भीमदत्त नगरपालिकाले दैनिक तीन लाख राजस्व गुमाइरहेको छ ।
महाकाली पुल निर्माण कम्पनी कुमार/सिएफइसीले रोयल्टीका विषयमा दुई पटक अदालतमा मुद्दा दायर गरेसँगै विवाद चर्किएको हो ।
पुल निर्माण कम्पनीले गत विगतका वर्षहरूमा तिर्नुपर्ने रोयल्टी नतिर्ने यसबर्ष समेत भीमदत्त नगरपालिकाले गरेको टेण्डर आव्हानमा असहमति जनाएर मुद्दा दायर गरेको हो ।
उच्च अदालतले भीमदत्त नगरपालिकाका नाममा अन्तरिम आदेश जारीसँगै महाकाली नदीबाट ढुङ्गा, गिटी, बालुवा चोरी भइरहेको भीमदत्त नगरपालिकाले जनाएको छ ।
भीमदत्त नगरका प्रवक्ता हिमालय चन्दले रोयल्टी विवादका कारण नदीबाट दैनिक बालुवा, ढुङ्गा, गिटी चोरी तस्करी भइरहेको बताउनुभयो ।
उहाँले विवाद अदालतमा पुगेपछि असोज १ गतेदेखि सङ्कलन हुने रोयल्टी नियमित सुचारु नहुँदा दैनिक ३ लाख रुपैयाँ राजस्व गुमाइरहेको बताउनुभयो ।
महाकाली नदीबाट दैनिक सङ्कलन हुने तीन लाख राजस्व भीमदत्त नगरपालिकाले गुमाइरहेको छ ।
चालु आर्थिक बर्ष २०७८/०७८ मा भवानी कन्स्ट्रक्सन प्रालिले महाकाली नदीको रोयल्टी सङ्कलनको जिम्मा पाएको छ ।
भवानी कन्स्ट्रक्सन प्रालिले महाकाली पुल निर्माण कम्पनी कुमार÷सिएफइसी जेभीलाई रोयल्टी तिर्नका लागि ताकेता गरेको थियो ।
कुमार/सिएफइसीलाई रोयल्टी तिर्न र विगतका वर्षको राजस्व तिर्नका लागि भीमदत्त नगरपालिकाले तोकेता गर्दै आएपछि पुल निर्माण कम्पनीले दुई पटक मुद्दा दायर गरेको हो ।
आर्थिक बर्ष २०७५/०७६ मा कुमार/सिएफईसी जेभीले महाकालीको स्रोत उपभोग गरेबापत भीमदत्त नगरपालिकालाई २ करोड ४७ लाख ११ हजार र दोधारा चाँदनी नगरपालिकालाई ९३ लाख राजस्व नबुझाएपछि उक्त रकम महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएका थियो ।
बेरुजु रकम तिर्नका लागि दुवै भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले कम्पनीसँग ताकेता गरे पनि नबुझाएपछि थप विवाद चर्किएको हो ।
प्राकृतिक स्रोत साधन उपभोग र बाहिर बेचेको भन्दै दुवै पालिकाले बक्यौता रकम बुझाउन कम्पनीलाई दबाब दिँदै आएको छ ।
महाकाली पुल निर्माण कम्पनी कुमार/सिएफईसी जेभीले आफ्नो कार्य क्षेत्रमा रोयल्टी समावेश नभएकाले खारेजीको माग अघि सारेर उच्च अदालतमा रिट दायर गरेको थियो ।
कुमार/सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले रोयल्टी समावेश नभएकाले रिट दायर गरेको बताउनभयो ।
उहाँका अनुसार पुल निर्माण कम्पनीले रोयल्टी तिर्नुपर्ने नभए पनि रोयल्टी सङ्कलनकर्ता र पालिकाले ताकेता गरेकाले मुद्दा दायर गर्नुपरेको हो ।
दोधारा चाँदनी नगरपालिका प्रवक्ता दिलबहादुर सिजालीले अघिल्लो आर्थिक वर्षको ९३ करोड बेरुजु रकम तिर्नका लागि पुल निर्माण कम्पनीसँग तोकेता गर्दा समेत नतिरेको बताउनुभयो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले ढुङ्गा गिट्टी बालुवा चोरी भए नियन्त्रण गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्