तपाईँ सुन्दै हुनुहुन्छः

सर्वदलीय बैठकमा संसद्मा देखिएको गतिरोध अन्त्य गर्नेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा आज बसेको सर्वदलीय बैठकमा  संसद्मा देखिएको गतिरोध अन्त्य गर्नेबारे छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा सङ्घीय संसदलाई निर्बाध र मर्यादित ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको बैठकपछि सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।


बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएपछि एमाले वार्ता र संवादबाट टाढा भागेको निष्कर्ष बैठकमा सहभागी दलहरूको रहेको मन्त्री कार्कीले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आज एमाले अध्यक्ष ओली बैठकमा अनुपस्थित भए पनि फेरि फेरि आफूले बोलाउने र त्यस बेला बैठकमा आएर ओलीले आफ्ना कुरा राख्ने विश्वास व्यक्त गर्नुभएको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।

 प्रतिनिधिसभामा ३३ विधेयक विचाराधीन छन् भने राष्ट्रिय सभामा २७ विधेयक विचाराधीन छन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवा, कानुन मन्त्री कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत  सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button