तपाईँ सुन्दै हुनुहुन्छः

संसद् अवरुद्ध नगर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह

काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकले नेकपा एमालेलाई संसद् अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः बैठकमा बोलाउन आग्रह गरिने निर्णयसमेत गरेको छ ।

बैठकपछि जानकारी दिनुहुँदै कानून मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री देउवाले अर्को बैठकमा पुन : एमाले अध्यक्ष केपी ओलीलाई छलफलमा सहभागी हुन निमन्त्रणा गरिने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताइन्छ । बैठकमा सहभागी दलहरुले एमाले वार्ता र संवादबाट भाग्न खोजेको बताएका थिए ।

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने एमाले र राप्रपाबाहेक सबै दलका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्ष दल एमाले बहिष्कार गरेको थियो।

एमाले विभाजन गर्न मध्यराति संसद् स्थगित गरेर सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको र सभाुमुखले एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस नगरेर दल विभाजन गर्न सघाएको भन्दै एमालेले सरकारको विरोध गर्दै आइरहेको छ।

यस अगाडि संसद्को अवरोध अन्त्यका लागि सभामुख अग्नी सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button