तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठक जारी , प्रतिपक्षी एमालेद्वारा बहिस्कार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहनुभएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित छ । एमालेका लागि छुट्याइएका कुर्सी खाली छन् । एमालेले बैठक बहिष्कार गरेको जनाएको छ । एमालेले आफूहरूले कारवाही गरेका माधव कुमार नेपाललाई बैठकमा सहभागी गराएको भन्दै बैठक बहिष्कार गरेको हो । आफूले हटाएका १४ सांसदलाई कारवाहीको सूचना टाँस गरी सभामुखले मार्गप्रसस्त नगरेसम्म संसद गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने एमाले जनाएको छ । यसअघि पनि एमालेले सभामुखले आयोजना गरेको सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button