पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम पुरा
कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ८४ प्रतिशत काम सकिएको छ ।
गण्डकी प्रदेश सरकाका मुख्य मन्त्री र अन्य विभागीय मन्त्रीहरूले आज निर्माणाधीन विमान स्थलको स्थलगत अवलोकन गर्नुभएको छ ।
निमार्ण भइरहेको विमानस्थल आगामी जनवरीबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजना प्रमुख विक्रम गौतमले बताउनुभयो ।
तीन महिनाभित्र आन्तरिक उडान भर्न सम्भव भएको भन्दै उहाँले यसका लागि नागरिक उड्ययन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनीबिच समझदारी र समन्वय हुनुपर्ने बताउनुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारो जहाज मात्र आउन सक्ने छन् । जुन जहाजको क्षमता १७० जनासम्मको हुने छ ।
रु २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेको थियो तर कोरोना महामारीका कारण आयोजना ढिला गरी सम्पन्न हुन लागेको हो ।
३ हजार ७ सय ९९ सय रोपनी क्षेत्रफलभित्र बन्दै गरेको यस विमानस्थलमा टर्मिनलसहित ९ वटा भवन रहेका छन् ।
अवलोकन गर्दै मुख्य मन्त्री कृष्णचन्द्र पोखरेलले आयोजना जतिसक्दो चाँडो सम्पन्न गर्न अनुरोध गर्नुभएको थियो ।
विषम अवस्थामा समेत नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ । कोरोनाको दोस्रो लहरपछि दैनिक १८५ चिनियाँ र २५० जना नेपाली कामदारहरूले काम गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्