‘पर्यटन व्यवसायको पुनरुत्थानका लागि सरकार संवेदनशील’

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
गृह मन्त्रालयमा आज आयोजित ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरू सँगको अन्तरक्रियामा गृहमन्त्री खाँणले कोरोना संक्रमण नियन्त्रण गरी सबै व्यवसाय सामान्य अवस्थामा चल्न सक्ने अवस्था बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।
गृहमन्त्री खाँणले कोरोना सङ्क्रमणको जोखिम घट्दै गए आगामी केही दिनमा नै रात्रिकालीन व्यवसायहरू समेत पूरा समय सञ्चालनको अनुमति दिन सकिने बताउनुभयो ।
कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनाथ पाण्डे तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले रात्रिकालीन व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन व्यवसायीका तर्फबाट समेत आवश्यक पहल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा व्यवसायीहरूले चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, लामो समय बन्द रहेका व्यवसायको पुनरुत्थानका लागि राहतका प्याकेजहरू ल्याउनुपर्ने, रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नियमन तथा सूचीकरणको उचित प्रबन्ध गर्नुपर्ने लगायतका मागहरू राखेका थिए ।








प्रतिक्रिया राख्नुहोस्