तपाईँ सुन्दै हुनुहुन्छः

सङ्गठन विस्तार र पार्टी सम्मेलनहरूलाई थप प्रभावकारी बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले पार्टीको सङ्गठन विस्तार र पार्टी सम्मेलनहरूलाई थप प्रभावकारी बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।  

पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समितिको बैठकमा सङ्गठनलाई अझै व्यवस्थित बनाउन सङ्गठन विभागबाट गरिएको प्रस्तावलाई स्थायी समितिले स्वीकार गरेको बैठकपछि माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिनुभयो ।

नेता गुरुङले विभिन्न समयमा पार्टी एकता भएका र कार्य विभाजनमा छुटेकाहरूको अध्ययन गरी कार्य दलले प्रतिवेदन बुझाएको र कार्यदलको सुझाव हेरेर साङ्गठनिक प्रक्रियाहरूमा ध्यान दिने निर्णय भएको पनि जानकारी दिनुभयो ।

पार्टीको स्कुल विभागलाई व्यवस्थित बनाउन पनि स्थायी समितिमा सुझाव प्रस्तुत भएको र सङ्गठनसँग जोडिएको विषयमा नै आजको बैठक केन्द्रित रहेको नेता देव गुरुङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

नेता गुरुङले सरकारमा मन्त्री पठाउने विषयमा गठबन्धनमा रहेका दलहरुबीच बैठक बसेर नीतिगत निर्णय गरिसकेपछि छलफल हुने र त्यो बाँकी रहेकाले स्थायी समितिमा मन्त्रीका  विषयमा छलफल नभएको पनि नेता गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button