तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा कृषि बिमा बढ्दै, पशु बिमा घट्दै

बिमा नगरेका असोज ११ गते चट्याङ लागेर जुम्लाको एक पाटनमा मरेका भेडा 

जुम्ला । प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षति बराबरको राहत किसानले पाउने गरी कृषि बिमालाई अनिवार्य गरिएको हो । जुम्लाको प्रमुख नगदेबाली स्याउ, सिमी र ओखरलगायतका अन्नबालीको कृषि बिमाप्रति आकर्षण बढेको छ ।  

जस अनुसार जुम्लामा पछिल्लो समय कृषि बिमा गर्नेको सङ्ख्या वृद्धि भएको पाइएको छ । पशु तथा बाली बिमा गर्दै आएको शिखर इन्स्योरेन्सको तथ्याङ्क अनुसार आव २०७६/७७ मा प्रमुख नगदेबाली स्याउको बिमा गर्ने किसानको सङ्ख्या ८ सय ८० जना थियो । 

भने, आव २०७७/७८ हाल बढेर करिब १ हजार ४ सय २० जना किसानले स्याउ बिमा गरेको शिखर इन्स्योरेन्स जुम्ला शाखा प्रबन्धक रिसिराम पाण्डेले बताउनुभयो । विगतमा ५ दशमलव ५ प्रतिशत किसान मात्रै बिमित रहेकोमा हाल दोब्बरले बढेर करिब १० प्रतिशत किसान बिमाको पहुँचमा पुगेका छन् । 

सरकारी तथ्यांकअनुसार जुम्लाका १९ हजार घरधुरीमध्ये साढे १६ हजार घरधुरी स्याउ खेतीलगायत अन्य कृषि पेशामा आबद्ध छन् । तर बि मित किसानको सङ्ख्या १४ सय २० अर्थात् १० प्रतिशत किसान कृषि बिमाको पहुँचमा पुगेको पाण्डेको भनाई छ । 

जुम्लाको आर्थिक विकास र जीविकोपार्जन गर्ने मुख्य स्रोत भनेकै स्याउ खेती हो । सरकारी तथा निजी क्षेत्रले स्याउ बिमा गर्नेबारे किसानलाई जनचेतना नदिएका पनि हैनन् । तर बिमाको फाइदा र आवश्यकता नबुझेकै कारण अझै जुम्लाका हजारौँ किसान बिमाको पहुँचमा छैनन् । तर तुलनात्मक रुपमा स्याउ बिमा गर्ने किसान बढेका छन् । 

जुम्लाका आठ स्थानीय तह मध्य सबैभन्दा बढी पातारासी गाउँपालिका ४ सय ७५जना किसानले स्याउ खेतीको बिमा गरेका छन् । 

भने, चन्दननाथका २ सय ८ जना, तातोपानीका १ सय ८८ जना, तिलाका २ सय ४८ जना, हिमाका ९५ जना किसानले स्याउ बिमा गरेका छन् । त्यस्तै, सिंजा गाउँपालिकाका ९८ जना,र कनकासुन्दरीका १ सय ८जना गरी १४ सय २० जना किसानले कृषि बिमा गरेका हुन् । 

गत वर्ष ५० हजार मात्रै बिरुवाको बिमा गरिएकोमा हाल दोब्बरले बढेर आठै स्थानीय तहका गरी १ लाख २३ हजार बिरुवाको बिमा गरिएको शिखर इन्स्योरेन्सको तथ्यांंकमा उल्लेख छ । 

पशु बिमा घट्दै

जुम्लामा २०७० सालदेखि यता हरेक वर्ष जुम्लामा प्राकृतिक प्रकोप बाढी पहिरो चट्याङबाट हजारौँ भेडा बाख्रा, भैँसी मरेका छन् । तथ्याङ्क हेर्दा ०७० सालमा ७ सय, ०७५ मा ३ सय, ०७७ मा १५० र यही असोज ११ गते करिब ४० भेडा चट्याङ लागेर मरेका छन् । 

दशैको मुखमा गुठिचौरका ४ जना किसानका ४० भेडा मर्दा बिमा नगरेको हुनाले राहत पाएनन् । जसबाट भेडा पालक किसानले करोडौँको क्षति व्यवहोर्नु परेको छ । पशु बिमा नगरेकाका कारण किसानले कतैबाट पनि सुक्को राहत पाएका छैनन् । 

बिमा नगरेका कारण अहिले ठुलो पश्चात्ताप भएको गुठिचौरका भेडापालक किसान नानो भण्डारी बताउँछन् । उहाँले भन्नुभयो,“चट्याङ लागेर १० भेडा मरे । बिमा नगरेकोले करिब डेढ लाख घाटा खाए । व्यवसायबाटै हातधुनु पर्‍यो । अब फेरी व्यवसाय गरे जसरी पनि बिमा गर्छु ।”

पशु बिमा नबढ्नुमा आवश्यक प्रचार प्रसार नपुगेको समेत सरोकारवालाको भनाई छ । शिखर इन्स्योरेन्स जुम्ला शाखाका प्रबन्धक पाण्डे भन्छन्,“हाल सम्म जुम्लाका २३ सय पशुचौपायको मात्रै बिमा छ । जबकि जुम्लाका १९ हजार घरधुरीमै गाइभैसी, भेडा बाख्रा पालन भइरहेको छ । अधिकांशको पुर्ख्यौली पेशा नै भेडा पालन छ । एकै घरमा ३/४ सय भेडा छन् । उनीहरूले बिमा गरेका छैनन् । हरेक वर्ष प्राकृतिक प्रकोपले नोक्सान भइरहेको छ । तर बिमा नगर्दा किसानले राहत पाएका छैनन् ।”

पाण्डेका अनुसार कृषि बिमाको तुलनामा पशु बिमा निकै न्यून छ । तर पशु बिमाको ९० प्रतिशत दाबी भुक्तानी हुने भएकोले सबै किसानलाई पशु बिमा गर्न समेत उनको आग्रह छ । हाल सम्म जति भेडा पालक किसानका भेडा चट्याङ लागेर मरेका छन् बिमा नभएकै कारण उनीहरूले राहत पाएका छैनन् । 

गाउँमै गएर किसानलाई पशु बिमा गर्नुहोस् भन्दा थोरै पैसा तिर्न कन्जुसाइ गरेकै कारण लाखौँ घाटा व्यवहोरेका छन् । अब पशु बिमाबारे जनचेतना फैलाउन घरदैलो अभियान पनि चलाउने उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button