तपाईँ सुन्दै हुनुहुन्छः

लिङ्ग पहिचान गरेर गर्भपतन गर्नेमा शिक्षित वर्ग नै बढी

काठमाडौँ । पछिल्लो समय शहरी क्षेत्रका शिक्षित परिवारमा  लिङ्ग पहिचान गरेर गर्भपतन गराउने प्रचलन बढेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । 

सञ्चारीका समूहले आज ललितपुरमा आयोजना गरेको विभेदपूर्ण लिङ्ग छनौट रोकथाम सम्बन्धी विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा महिला अधिकारकर्मी वन्दना राणाले पढेलेखेको युवा पुस्तामा समेत छोराको चाहना बढ्नाले लिङ्ग पहिचान गरेर छोरीहरूको गर्भमै हत्या हुने गरेको बताउनुभयो । 

हालसम्म विश्वमा १२ करोड ६० लाखले गर्भमा छोरी भएकै कारण गर्भपतन गराएको उल्लेख गर्नुहुँदै महिला अधिकारकर्मी राणाले लिङ्ग पहिचान गर्ने प्रविधिको विकासले कानुनलाई समेत चुनौती दिएको बताउनुभयो । 

नेपालका विभिन्न १२ जिल्लामा गरिएको अध्ययनले एक सय जना छोरी जन्मँदा एक सय ६ जना छोरा जन्मिने गरेको देखाएको ।  

कार्यक्रममा अधिवक्ता सोनाली रेग्मीले परिवारको दबाबमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्न बाध्य पारिने महिलाहरू उल्टै सजायको भागिदार हुने गरेको बताउनुभयो । 

त्यस्तै राजधानी दैनिकका सम्पादक सागर पण्डितले गर्भपतन सम्बन्धी कडा कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । 

सञ्चारीका समूहको अध्यक्ष नितु पण्डितले सञ्चार माध्यमले लिङ्ग पहिचान गरेर छोरीको जन्म हुनै नदिने विषय गम्भीर रहेको भन्दै सञ्चार माध्यमहरूले यो विषयलाई  गम्भीर रुपमा उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा १२ हप्तापछि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेलाई ४ वर्ष कैद र २५ हजार जरिवाना हुने कानुनी व्यवस्था  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button