तपाईँ सुन्दै हुनुहुन्छः

कास्की जिल्ला अदालतमा दोभासे राखिँदै

पोखरा । कास्की जिल्ला अदालतले अब देखि अदालतमा दोभासे राख्ने भएको छ । नेपाली भाषा बोल्न र बुझ्न नसक्नेहरू सेवाग्राहीलाई लक्षित गर्दै अदालतले दोभासे राख्ने भएको हो ।

अदालतमा नेपाली भाषा बोल्न र बुझ्न नसक्ने सेवाग्राही आए अदालतले विश्व भाषा केन्द्रबाट सहयोगी लिएर काम गर्दै आएको छ । जिल्ला अदालतले अदालतमै दोभासे राख्नको लागि सूचना जारी समेत गरेको छ ।

गुरुङ, नेवारी, चाइनिज, स्पेनिस, रसियन लगायत भाषा बोल्न र लेख्न सक्नेले आवेदन दिन आदतलाले भनेको छ ।जिल्ला अदालत नियमावली, २०७४ को नियम १०४ अनुसार अदालतले दोभासेसँगै स्वैच्छिक कानुनी सहायता (प्रो वोनो सेवा) दिन इच्छुक कानुन व्यवसायीको सूची तयार गर्ने भएको छ । केही दिन अगाडि मात्र धर्म परिवर्तनको आरोपमा कोरियन भाषा बाहेक अन्य भाषा नबुझ्ने ४ कोरियाली पक्राउ परेका थिए । उनीहरूले कोरियन बाहेक अन्य कुनै पनि भाष नबुझ्ने थिए । उक्त मुद्दाको बयान तथा बहस गर्न समस्या भएको थियो ।  पक्राउ परेका कोरियालीहरूले आफ्नै दोभासे ल्याएर सोही दोभासेको साथमा जिल्ला प्रहरी कार्यालयमा बयान लिइयो भने अदालतमा पनि उही दोभासेकै सहयोगमा थुनछेक बहस गरिएको थियो ।

कास्की जिल्ला अदालतमा यस अघि पनि विभिन्न देशका नागरिकहरू विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनलाई प्रहरीले अदालतमा उभ्याएपछि उनीहरूको बयान लिँदा अदालतमा समस्या भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button