धनकुटाको सामुदायिक वनमा द्वन्द्व

धनकुटा । धनकुटा जिल्लाको ३ सय ५ वटा सामुदायिक वन समूह मध्ये २० वटा सामुदायिक वन समूहमा द्वन्द्व देखिएको छ ।
सात वटा स्थानीय तहमा रहेका सामुदायिक वनमा देखिएका विवादहरू स्थानीय स्तरमा समाधान हुन सकिरहेका छैनन् । विवादको समाधान हुननसकेपछि सामुदायिक वनका उजुरीहरू जिल्ला स्थित द्वन्द्व रूपान्तरण केन्द्र, नेपालमा पुगेका छन् । शान्तिको लागी साझेदारी कार्यक्रम अन्तर्गत प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण कार्यक्रमको छैटौँ चरणमा सम्पन्न भएका प्रगति विवरण सरोकारवालाहरू माझ सार्वजनिक गर्ने क्रममा जिल्लाका सामुदायिक वनहरुमा रहेका विवादहरुका उजुरी केन्द्रमा आउनेक्रम बढिरहेको बारे जानकारी दिइएको हो ।
प्राकृतिक श्रोतद्धन्द्ध रूपान्तरण केन्द्र नेपाल धनकुटाका श्रोत व्यक्ति भोज बहादुर विश्वकर्माले मानव र प्रकृति बीच कहिल्यै नटुङ्गिने गरी द्वन्द्व चलिरहे पनि प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण नेपालले समुदायमा दिगो शान्ति र उन्नत सम्बन्ध कायम राख्ने खरी द्वन्द्व रूपान्तरणका विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु भयो ।
उहाँले धनकुटा जिल्लाकोसा मुदायिक वन समूहहरूमा देखिएको द्वन्द्व कम गर्न प्रयास भइरहेको बताउनुभयो ।
राष्ट्रिय श्रोत व्यक्ति समेत रहनुभएका विश्वकर्माले सरकारी नियम, कानुनको कारणले आम समुदायमा जल, जमिन र जङ्गलको विषयमा द्वन्द्व चलिरहेको बताउनुभयो ।
केन्द्रले हरेक वर्ष २ देखि ४ वटासम्म द्वन्द्व रूपान्तरण गर्दै आएकोमा यो वर्ष भने कोरोनाको कारण लकडाउन भएकाले २ वटा सामुदायिक वनको मात्र द्वन्द्व रूपान्तरण गर्न सफल भएको श्रोत व्यक्ति विश्वकर्माले बताउनुभयो । सो अवसरमा उहाँले यो वर्ष धनकुटा नगरपालिकाको वडा नं।९ मा रहेको भैसीखाम सामुदायिक वनको सीमा सम्बन्धी द्वन्द्व सामुदायिक वन उपभोक्ता समूह र जग्गा उपभोग गरिरहेका १४ घर परिवार बीच रहेको र समाधानको बाटोमा अघि बढिरहेको बताउनुभयो । त्यसै गरी धनपा वडा नं।९ कै जाल्पादेवी सालघारी सामुदायिक वनको सीमा सम्बन्धी द्वन्द्व वन उपभोक्ता समूह र वनको जग्गा उपभोग गर्ने ८ घर परिवार बीच रहेको र द्वन्द्व रूपान्तरणको क्रममा पक्षहरूसँग विकल्प पहिचानको लागी धारणा सङ्कलन गर्न बाँकी रहेको विश्वकर्माले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक बहादुर चौहानको प्रमुख आतित्थ्यमा सम्पन्न छलफल तथा प्रगति विवरण सार्वजनिक कार्यक्रममा सहभागीहरूले द्वन्द्व रूपान्तरण केन्द्रले सञ्चालन गरेको कार्यक्रमहरूको बारेमा जिल्लाको ३ सय ५ वटै सामुदायिक वनहरूलाई जानकारी हुनु पर्नेमा जोड दिदैं केन्द्रले गरिरहेका प्रयासको चर्चा गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्