तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

धनगढी । कैलालीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको छ । भारतसँग खुला सिमानाका जोडिएको कैलालीमा प्रहरीले दशै, तिहार, छठ पर्व लक्षित विशेष सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ तुल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चाड पर्वका समय हुन सक्ने चोरी, लुटपाट, झैँ–झगडा लगायतका आपराधिक गतिविधि नियन्त्रणलाई सुरक्षा योजनाको प्राथमिकतामा राखिएको छ । यसै गरी राजमार्ग, वित्तीय, बसपार्क, बजार, सार्वजनिक महत्त्वका क्षेत्र, सरकारी कार्यालय, सिमानामा जस्ता सवेदनशिल ठाउँमा सुरक्षा निगरानी बढाइएको छ । 

कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चाडपर्वलाई लक्षित गरी जिल्लाभर सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । 

यसै गरी सिमानाकामा चेकजाँचमा कडाइका साथै तालिम प्राप्त कुकुर देखि ड्रोनबाट समेत सुरक्षा निगरानी बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

साथै यात्रुहरूको सहजताका लागि धनगढी सहित विभिन्न ठाउँमा नागरिक (यात्रु) सहायता कक्ष तथा रिफ्रेसर सेन्टर स्थापना गरिएको र अतरिया देखि फल्टुडे तथा अतरिया देखि चिसापानी सम्म सार्वजनिक यातायातमा टाइम कार्ड लागु गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button