तपाईँ सुन्दै हुनुहुन्छः

सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका काम र सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताउनुभएको छ।

सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा मङ्गलवार काठमाडौँमा आयोजित ‘दिगो विकास लक्ष्य : सूचनामा पहुँचको अवस्था र कार्यदिशा विषयक राष्ट्रिय विचार गोष्ठी बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो।

केन्द्रदेखि तल्लो तहसम्मका सूचना प्राप्त गर्नु संविधानमा व्यवस्था गरिएको नागरिकको मौलिक हक हो भन्ने विषय सर्वसाधारण जनता, श्रमिक तथा किसानहरूलाई जानकारी हुनुपर्ने उहाँले बताउनुभयो।

‘जनताले सूचनाको हक र पहुँचका बारेमा बुझ्न सक्ने र प्रश्न सोध्न सक्ने बनाउनुपर्दछ,’ उहाँले भन्नुभयो,  ‘ यसका लागि सबै राजनीतिक दल, तीन तहका सरकार, नागरिक समाज, बुद्धिजीवी लगायतले सचेत रुपमा भूमिका खेल्नुपर्दछ।‘

अध्यक्ष तिमिल्सिनाले सूचनाको हकको प्रयोग सबैभन्दा बढी वडा तहमा कार्यान्वयन भए सर्वसाधारणले सरकारका सेवा सुविधा लिन सक्ने र सरकारहरू पारदर्शी हुने धारणा राख्नुभयो। 

‘नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउन, जननिर्वाचित प्रतिनिधिलाई सचेत र जिम्मेवार बनाउन, भ्रष्टाचार न्यूनीकरण र अन्त्य गर्न सबै सूचना सार्वजनिक हुन जरुरी छ,’ सो अवसरमा तिमिल्सिनाले भन्नुभयो।

अध्यक्ष तिमिल्सिनाले विकास निर्माणका कामहरूको बारेका सम्पूर्ण सूचनामा सर्वसाधारणको पहुँच हुनुपर्ने बताउनुभयो।

‘अहिले आयोजनाको सामान्य जानकारी दिने बोर्ड राख्ने चलन छ। तर, आयोजनाको सम्झौताको दस्ताबेज  सार्वजनिक गर्न आनाकानी गरिन्छ,’ उहाँले भन्नुभयो, ‘आयोजना कार्यान्वयनको गुणस्तरमा प्रभाव पार्ने सामग्रीहरु, मात्रा, प्रभाव पार्ने क्षेत्र बारेमा जानकारी नहुँदा आयोजना पारदर्शी हुँदैनन्, कमसल हुन्छन्, समयमा सम्पन्न हुँदैनन्, उपभोक्ताले प्रभावकारी उपभोग गर्न पाउँदैनन् र राज्यको सम्पत्तिको क्षति हुन्छ।त्यसैले सबै काम सूचना पारदर्शी हुन जरुरी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button