अख्तियारद्वारा पर्साको कालिकामाई गाउँपालिकामा छापा

बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारी विकास निर्माणका योजनाको भुक्तानी सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।
गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले अनियमितता गरेको र पछिल्लो समय गाउँपालिकामा व्यापक भ्रष्टाचार भइरहेको उजुरीको आधारमा अख्तियारको टोली लगातार ३ दिन सम्म गाउँपालिकाको सम्पूर्ण कागज पत्र नियन्त्रणमा लिएर छानबिन गरेको र शङ्कास्पद योजना तथा कार्यक्रमहरूको कागजात नियन्त्रणमा लिएर गएको छ ।
त्यसै गरी गाउँपालिकाको विभिन्न वडामा सञ्चालन भएको योजनाहरूको स्थलगत अवलोकन तथा अनुगमन समेत टोलीले गरेको थियो ।
टोलीले कार्यालयका कर्मचारीहरूसँग सोधपुछ समेत गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले कालिकामाई गाउँपालिले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान कार्यक्रम, धारा जडान, कोरोना संक्रमण नियन्त्रणका लागि स्थापना गरेको आइशोलेशन केन्द्र, नदी सफाइ तथा ढलान सडक निर्माण लगायतका विषयमा धेरै उजुरी परेको तथा आवश्यक कागजातहरू माग गर्दा गाउँपालिकाले समयमा नपठाउने, ताकेता गर्दा समेत सम्पर्कमा नआए पछि विज्ञ सहितको टोली छानबिनको लागि गाउँपालिकाको कार्यालयमै पुगेको बताउनुभयो ।
उहाँले केही योजनाहरूको कागजात टोलीले कार्यालयबाट सङ्कलन गरेको बताउँदै उजुरीहरू उपर अनुसन्धान भइरहेको बताउनुभयो । दोषी देखिएको खण्डमा भ्रष्टाचारमा संलग्न कर्मचारी तथा जनप्रतिनिधिहरू उपर कानुनी कारबाही गरिने सूचना अधिकारी सापकोटाले बताउनुभयो ।
यता गाउँपालिकाको कार्यालयमा अख्तियारको टोली पुगे पछि कर्मचारी तथा जनप्रतिनिधिहरू बिच खैलाबैला मच्चिएको छ ।








प्रतिक्रिया राख्नुहोस्