तपाईँ सुन्दै हुनुहुन्छः

क्रिश्चियन बनाउन खोज्ने ४ कोरियन नागरिक जेल चलान

कास्की । पोखरामा कोरियाली नागरिकहरूले  विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका चार कोरियाली नागरिकलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पोखराको पृथ्वीचोकस्थित अन्ना पाउल गेष्टहाउसका सञ्चालक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

ती कोरियाली नागरिकले विभिन्न मानिसलाई भेला पारेर गेष्ट हाउसमा खाजा खुवाउने गर्थे । प्रभु यशुको भजन कीर्तन गर्ने, आर्थिक सहयोग गर्ने, उपचार खर्च दिने, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने गरेका थिए  । 

गेष्ट हाउसमा काम गर्नेहरूलाई समेत उनीहरूले चर्चमा लाने गरेको पाइएको छ । कोरियाली नागरिकले भजन कीर्तनमा सहभागी गराउने गरेका थिए । पोखरा १० मा अधिकांश सुकुम्वासी टोलमा रहेका बालबालिकाहरूलाई कोरियाली टोलीले प्रलोभन देखाउने गरेको स्थानीयहरूको आरोप रहेको थियो । 

सुकुम्वासी टोलमा खाजा खाना बाँड्थे । चामल, पाउरोटी, बिस्कुट पनि बाँडिरहन्थे । विद्यार्थीहरूलाई ट्युसन पढाउन यी ४ कोरियालीले छुट्टै कोठा समेत लिएका थिए ।

ट्युसन पढाउँदा पनि क्रिश्चियन धर्म सम्बन्धी काम गर्ने, बाइबलका श्लोक, भजन गाउन लगाउने गरेको स्थानीयले अदालतमा बताएका छन्  । शनिवारको दिन बच्चाहरूलाई अनिवार्य चर्च जानु पर्ने नियम राखेर क्रिश्चियन धर्म सम्बन्धी प्रचार दिने गरेको स्थानीयको दाबी छ ।

सोमबार अदालत उभ्याइएका ती ४ कोरियाली नागरिकले भने आफूहरू धर्म परिवर्तन गराउन नआएको दाबी गरिरहे । आफूहरूले विपन्न परिवारलाई सहयोग गरेको, विद्यार्थीहरूको पढाइ खर्च जुटाएकाले मानिस आकर्षित भएको हुन सक्ने दाबी उनीहरूको थियो । स्थानीयहरू यशुको प्रार्थना गर्दा उपस्थित हुने भएकाले क्रिश्चियन धर्ममा आस्था राख्ने गरेको बयान पनि उनीहरूले दिएका छन् । 

थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले चारै जना कसुरदार होइनन् भनी भन्न नमिल्ने भन्दै कारागार पठाउने आदेश गरेको हो । जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम उनीहरू पुर्पक्षका लागि थुनामा पठाइएको हो । ‘प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई कारागार पठाउनु,’ आदेशमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button