तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला सहित तराई मधेशमा मनाइने जितिया पर्व ३६ घण्टे उपवास शुरु

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा सन्तानको सुख शान्ति, समृद्धि तथा दीर्घ जीवनको कामना सहित मनाइने मनाइने जितिया पर्व आजबाट सुरु भएको छ ।

आज बिहान देखि नै जितिया पर्व गर्न व्रतीहरू उपवास बस्नु भएको छ  । महिलाहरूले यस पटक ३६ घण्टासम्म निराहार बसेर एक घुट पानी तथा आफ्नै थुक पनि ननिल्ने गरी मनाइने हुनाले पर्वलाई निक्कै कठोर व्रतको रुपमा मानिन्छ । 

जितिया पर्वको मुख्य उद्देश्य नै सन्तानको दीर्घायु तथा परिवार जनको कल्याण गर्नु नै रहेको छ । यसमा झिउनी वा घिरौँलाको पातमा तेल खरी हिजो अर्पण गरेर जिमुतवाहनलाई चढाएका छन् । भोलि बाँसको पातमा तेल, खरी चढाउने चलन रहेको छ । चढाइएको तेल शरीरका विभिन्न भागमा दल्ने चलन रहेको छ । घरका अन्य सदस्यहरूलाई पनि सोही तेल लगाई दिने चलन रहेको छ । 

जितिया पर्व अन्तर्गत सधवा सधवा महिलाहरूले माछा एवं कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरू भात, चिउरा कोदोको रोटी खाने परम्परा रही आएको छ । महिलाहरूले हिजो तथा आज पनि विभिन्न धार्मिक तँलाउँ, नदी, सरोवर एवं कुण्डमा स्नान गर्ने गर्दछन् । 

आज बिहान चढाइएको प्रसाद सामाग्रीहरू दही, चिउरा, फलफूल सहित सामानहरू आफै खाएर ओठगन पनि गरेका छन् । त्यसपछि पुनः बिहान नदी तलाउँ एवं पोखरीमा स्नान गरेर आज देखि भोलि साँझ ५ बजेसम्म ३६ घण्टा व्रत बस्ने गर्दछन् ।   

जितियाका अन्तिम दिन भोलि बिहानै उठी व्रतालु महिलाहरू नदी, पोखरी, इनार ताल तलैयामा स्नान गरी घर फर्केर बेसारको पातमा चुरा, दही, फलफूल, मटर, काँक्रा चढाएर पर्वको समापन गरेपछि पारन साँझ ५ बजे गर्ने तिथि परेको छ ।  

यस पटक थितिको कारणले जितिया पर्वको अवधि लामो रहेको भए पनि व्रतीका लागि ओठगन गर्ने समय भएकाले थोरै भए पनि राहत मिलेको छ । जितिया पर्वको अवसरमा मिथिलामा कतिपय ठाउँहरूमा जिमुतवाहनको प्रतिमा राखेर पूजा पनि गर्ने चलन रहेको छ । 

जितिया पर्व गरेका महिलाहरूको सन्तानलाई जस्तो सुकै अवस्थामा सुरक्षा हुने र मृत्युको मुखमा पुगेको, घटना एवं दुर्घटनामा परेर पनि बाँच्ने धार्मिक जनविश्वास रहेको छ । पुरुषले दिवङ्गत भएका पितृप्रति सम्मान गरेर १६ दिनसम्म तर्पण गरे जस्तै महिलाहरूले  पनि आफ्नो पितृप्रति श्रद्धा प्रकट गर्ने जितिया पर्व मनाएर दिवङ्गत मातृपक्षका पितृहरूको स्मरण एवं सम्मान प्रकट गर्ने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button