तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले ठक्कर दिदा आमा छोराको मृत्यु

रुपन्देही । छोरालाई कलेज पठाउन गाडी चढाउन पुगेकी आमा र छोरालाई  ट्रकले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको छ  । पूर्व/पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमा छोराको मृत्यु  भएको हो । सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।  

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमा छोरालाई ठक्कर दिएको थियो। स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडीसम्म छोड्न आमा आएकी थिइन् । 

ठक्करबाट घाइते भएका उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ठक्कर दिने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button