सर्लाहीका आठवटै सीमानाका खुला

सर्लाही। कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए ।
नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सीमानाका खोल्ने निर्णय गरेको हो । नेपाल सरकारले निर्णय गरेपछि बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका सर्लाहीका आठवटै नाका खुला गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले नेपाल सरकारले गरेको निर्णयअनुसार जिल्लाका आठवटै नाका खुला गर्ने निर्णय गरिएको भए पनि आवागमनमा विभिन्न चार वटा बुँदा अनिवार्य पालना गर्नुपर्ने छ ।
जिल्ला सदरमुकामस्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलङ्गवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बारा उद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिनुभयो ।
सरकारले स्थल मार्गबाट आवागमन गर्न आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, खोपको मात्रा पूरा गरेको, एन्टिजेनसमेत नेगेटिभ आएको हुनुपर्नेलगायत अड्चन राखेर सीमानाका खोल्ने निर्णय गर्दा नागरिकमा निराशा कायमै रहेको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताउनुभयो ।
यता स्थानीयवासीले आफूहरूलाई घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामग्री ल्याउन, आफन्त भेट्न जान आउनसमेत समस्या भएको मलङ्गवाका स्थानीयवासी रामकलेवर रायले बताउनुभयो । नेपाल–भारत सामाजिक सम्बन्ध रहेका कारण पनि सीमाबाट सहज रूपमा आउन जान पाउनुपर्ने उहाँको माग छ ।
बिरामी भएर उपचार गर्न जानआउनसमेत समस्या हुनुका साथै दैनिक उपभोग्य सामग्री ल्याउन आफूहरूलाई समस्या भएको त्रिभुवननगरका विन्देश्वर महतोले बताउनुभयो । खुला गरिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको जनाएको छ । स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनुभयो ।रासस








प्रतिक्रिया राख्नुहोस्