कष्टकर जीवन बिताउन बाध्य छन् सशस्त्र द्वन्द्वका घाइतेहरू

कञ्चनपुर । कृष्णपुर नगरपालिका ६ बञ्जरियाका जीत बहादुर चौधरीले आर्थिक अभावले शरीरमा रहेको गोली निकाल्न सकेका छैनन् । घरको आर्थिक अवस्था दयनीय भएकाले उपचार खर्च जुटाउन नसक्दा बायाँ खुट्टा, कम्मर र घुँडामा लागेको गोली निकाल्न नसक्दा उनले असह्य पीडा सहेर बस्नु परिरहेको बताए ।
गत वर्षसम्म राज्यका तर्फबाट आजीवन निर्वाह भत्ता बापत ६ हजार रकम मासिक रुपमा पाउँदै आएका उनले हाल त्यो भत्ताको रकम समेत पाउने नसेको बताए । पुनः मूल्याङ्कन गर्ने भनेपछि निवेदनसहित प्रमुख जिल्ला अधिकारीलाई मेडिकल रिपोर्ट र एक्स(रे पेस गरे पनि भत्ताको रकम उपलब्ध हुन नसकेको चौधरीले बताए ।
२०६२ मा कालिकोटको पिलीमा ब्यारेक कब्जा गर्ने क्रममा जीत बहादुर घाइते भएका थिए ।
द्वन्द्वकलमा घाइते भएका भीमदत्त नगरपालिका ९ तिलकेनीका गजेन्द्र बोहरा समेत उपचार खर्चकै अभावमा घरमै बस्दै आइरहेका छन् । बोहराको कम्मरको जोर्नीमा अड्किएको गोली निकाल्न सकिएको छैन ।
गोली निकाल्नका लागि चिकित्सकले पाँच लाख जति खर्च लाग्ने भनेपछि उनले रकमको जोहो मिलाउन सकेका छैनन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले रकमको व्यवस्था गर्न नसकिएको उनले बताए ।
शुक्लाफाँटा नगरपालिका ३ का रिता चौधरीको शरीरमा लागेका बमका छर्रा निकाल्न नसक्दा उनी समेत पीडा खेप्दै आएकी छन् । द्वन्द्वका क्रममा तत्कालीन सुरक्षा फौजले धारापानी भन्ने स्थानमा बम प्रहार गर्दा छर्रा उनलाई लागेको थियो । गणतन्त्र लोकतन्त्र आएपछि सबैका सपना पुरा हुन्छन् भने पनि विभिन्न सरकार बने पनि आफ्नो समस्या सम्बोधन नगरिएको घाइतेहरु बताउँछन् । घाइते भएर घरमा आएपछि हालचाल बुझिन समेत कुनै पार्टीको नेता नआएको उनले दुखेसो पोखिन् ।
लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि ज्यानको बाजी थापेर लडेका योद्धाहरूलाई राज्यले बेवास्ता गरेको पीडितहरूको भनाई रहेको छ ।
राज्य व्यवस्थाको परिकल्पना अनुरूप तीन तहका सरकार बनेका छन् । जसले व्यवस्था ल्याउनका लागि लडे, तीनको अवस्था दयनीय छ । उपचार खर्च समेत नपाउँदा उनीहरू छटपटिए बाँच्नु परिरहेको छ । द्वन्द्व अन्त्य भएको १५ वर्ष वित्नै लागेको छ । द्वन्द्वका घाइतेहरूको अवस्था भने बिजोग छ । घाइतेहरूको उपचारको व्यवस्था राज्यले मिलाउनु पर्ने हो । सोधी खोजी नै नहुनु विडम्बना भएको अधिकारकर्मीहरूको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्