प्रतिस्थापन बजेट कार्यान्वयनका सम्बन्धमा सचिवहरूसँग छलफल शुरु

काठमाडौँ । सरकारले प्रतिस्थापन बजेट कार्यान्वयनका सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल शुरु गरेको छ ।
सोमवार अर्थ मन्त्रालयमा सबै मन्त्रालयका सचिवहरुको उपस्थितिमा भएको छलफलमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो ।
बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयहरूमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तर मन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशीघ्र अघि बढाउने लगायतका निर्णय भएको छ ।
छलफलमा अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरूको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्य योजना बनाउन सचिवहरूलाई निर्देशन दिनुभयो ।
बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थ मन्त्रालयबाट सम्पादन हुने कार्यहरूमा कुनै ढिलाइ नहुने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा आएका कार्यविधि निर्माण सम्बन्धी पुराना फाइलहरू ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाइलहरू ३ दिनभित्र टुङ्गो लगाउने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न सबै मन्त्रालयहरूले धेरै नै मेहनत गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्