११ देशका राजदूतहरू पदयात्रा गर्दै, स्थानीयले गरे रैथाने खाजाले स्वागत(फोटोफिचर)

कास्की । ४२ औँ विश्व पर्यटन दिवस मनाउन ११ देशका राजदूतहरूको टोली कास्कीकोट पुगेको छ ।
गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न देशका राजदूत सहित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहित २५ जनाको टोली विश्व पर्यटन दिवसका अवसरमा तीन दिने पोखरा भ्रमणमा आएको हो ।
आइतबार साँझ मात्र पोखरा आएको टोली सोमवार बिहानै पद यात्रामा निस्केको हो । टोलीले कास्कीकोटमा रहेको दक्षिण एसियाकै पहिलो अपाङ्गमैत्री पदयात्रा मार्गबाट हाइकिङ सुरु गरेको थियो ।
हाइकिङमा निस्केको टोलीलाई परम्परागत पोशाकमा सजिएका भुजेल गाउँ होमस्टेका आमाहरूले रैथाने खाजा (रोटी र गुन्द्रुकको अचारले स्वागत गर्नु भएको थियो ।

बिहानको हाइकिङमा खाएको सेल रोटी र स्थानीयले पञ्चेबाजा सहित गरेको भव्य स्वागत देखेर साउदी अरबका राजदूतले भन्नु भयो “यहाँको सस्कृती र प्रकृतिको म कसरी व्याख्या गरूँ हिमाल र सुन्दर मान्छेहरूको आतीथ्यताले मलाई निकै लोभ्याएको छ ।”
कास्कीकोटबाट देखिने मनोरम हिम श्रृङखलाहरुको दृश्य देख्दा नेपालका लागि जर्मन राजदूत . डा. थोमस प्रिन्जले भन्नु भयो “कति सुन्दर ठाउँ ”सुन्दर प्रकृति काखैमा हिमाल देखिने कुमारी हिमाललाई देखाउँदै उहाँले भन्नुभयो नेपाल साँच्चै स्वर्ग रहेछ । यो ठाउँ घुम्नै पर्ने ठाउँ रहेछ । एकै पटक समथर भूभाग, हरियाली पहाडका टाकुरा अनि सुन्दर हिमालय अहो यो साँच्चै मनमोहक छ । ”

अघिल्लो महिना मात्र राजदूत हुनुभएका प्रिन्ज जस्तै अधिकांश राजदूत तथा कूटनीतिक निकायका व्यक्तिहरूले पदयात्रा निकै रमाइलो र सुन्दर भएको बताउनुभयो ।
कोरियाका राजदूतले कास्कीकोटको ऐतिहासिकता देख्दा अचम्म लागेको र आफु फेरी घुम्न आउने बताउनु भयो । शाहवंशको उद्गमस्थल मानिने कास्कीकोट दरबार, कश्यप ताल हुँदै सराङकोटसम्म हाइकिङ गरिएको थियो ।

नेपालमा शाहवंशको सुरु भएको कास्कीकोटको दरबार त्यस वरपर रहेका प्राचीन किल्लाहरू बारेको जानकारी लिएका राजदूतहरूको टोलीले नेपाल सुरक्षित छ यस्तो सुन्दर ठाउँमा भ्रमण गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिनु भएको थियो ।
टोलीले अपराह्न ५ बजेबाट सुरु भएको मिनी सडक महोत्सव अवलोकन गरेको छ । ‘गण्डकी प्रदेशमा पर्यटनका गतिविधि गर्न सुरक्षित र खुल्ला रहेको सन्देश दिन कूटनीतिक व्यक्तित्वलाई पोखरा ल्याइएको,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो ।
पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीराम भण्डारी भ्रमणमा सहभागी राजदूतमार्फत ती देशमा पोखरा खुला र सुरक्षित रहेको सन्देश पुगेको बताउनु भयो ।













प्रतिक्रिया राख्नुहोस्