नेपाल काँग्रेस महाधिवेशन : ओखलढुङ्गाका ५ पालिकामा सहमति, ३ तहमा निर्वाचन सबै पालिकामा संस्थापन पक्ष हाबी

ओखलढुङ्गा । ओखलढुङ्गाका सबै आठ वटै स्थानीय तहमा नेपाली काँग्रेसको संस्थापन पक्षले नेतृत्व पाएको छ । पार्टीको पालिका अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा शेरबहादुर देउवा पक्षले नेतृत्व पाएको हो ।
वडा अधिवेशनमा ७५ मध्ये १ बाहेक सबै वडामा सहमति गरेको काँग्रेसले पालिका अधिवेशनमा ८ मध्ये ५ स्थानीय तहमा सहमति गरेको छ । सहमति भएका सबै स्थानमा संस्थापन पक्षका नेतालाई नेतृत्व दिइएको छ । भने निर्वाचन भएका ३ स्थानीय तहमा पनि संस्थापन पक्षकै नेताहरू निर्वाचित भएका छन् ।
ओखलढुङ्गा काँग्रेसको नगर तथा गाउँ अधिवेशनबाट खिजिदेम्बामा रामकुमार सुनुवार, लिखुमा कुमार सुवेदी, चम्पादेवीमा विष्णु पुलामी, मानेभञ्ज्याङमा देव पुलामी र सुनकोशीमा विष्णु खड्का सर्वसम्मत सहमतिमा निर्वाचित भएका छन् ।
सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिकामा चुनाव भएको थियो । सो चुनावबाट सिद्धिचरणमा प्रेमराज गुरुङ, चिशंखुगढी गाउँपालिकामा गोपालमान थापा र मोलुङ गाउँपालिकामा गोपीकृष्ण कार्की विजयी भएका छन् ।
निर्वाचित सबै ८ वटै स्थानीय तहका सभापतिहरू संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । पार्टी सभापति प्रदीपकुमार सुनुवार, संविधानसभाका सदस्य तथा पूर्व सांसद रामहरि खतिवडासहित काँग्रेसका प्रभावशाली नेताहरू संस्थापन पक्षमा रहेकाले पालिकाको नेतृत्वमा सोही समूह हाबी भएको छ ।
पालिका तथा नगर अधिवेशनपछि संस्थापन इतर रामचन्द्र पौडेल पक्षका नेताहरूले जिल्ला पार्टीले पेलेर जान खोजेको आरोप लगाएको छ । संस्थापन पक्षका नेताहरू भने एकताको सन्देश सहित वडा र पालिका अधिवेशन सकिएको बताउँछन् ।
ओखलढुङ्गामा खटिएका मुख्य निर्वाचन अधिकृत कृतिनाथ शर्माले काँग्रेसको गढ मानिने जिल्लामा दीर्घकालीन महत्त्व राख्ने गरि सहमति र चुनाव निष्पक्ष गराएको बताए । एकाकार सङ्गठन बनेको बताउँदै शर्माले जिल्ला अधिवेशन सोही हुने र आगामी निर्वाचनहरूमा ओखलढुङ्गामा धात अन्तरधातको अवस्था नआउने बताए ।
जिल्ला अधिवेशनमा देउवा पक्षबाट तेजेन्द्र खनाल र रामचन्द्र पौडेल पक्षबाट बालकृष्ण दाहाल सभापतिका लागि चुनावी मैदानमा जाने तयारीमा छन् ।








प्रतिक्रिया राख्नुहोस्