उदयपुरमा जितिया महोत्सव २०७८ हुँदै
उदयपुर । उदयपुरमा थारु समुदायले जितिया महोत्सव २०७८ को आयोजना गर्ने भएको छ । थारु समुदायले आफ्नो भाषा प्रवर्द्धन गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ ।
आयोजक समितिका अनुसार महोत्सव आगामी असोज १३ गते हुने छ । थारुहट रङ्गशालामा हुने महोत्सवमा थारु भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिनुपर्छ भन्ने साङ्केतिक दबाब स्वरूप गर्न लागिएको हो । थारु कल्याणकारिणीसभा त्रियुगा नगर समितिको आयोजनामा महोत्सव बारे आइतबार एक पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएका थिए । आयोजकले थारु बाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारूभाषालाई मान्यता नदिएको निम्ति कार्यक्रम गर्ने लागिएको जनाएका छन् ।
थारु कल्याणकारीणी सभाका अध्यक्ष शिवनारायण चौधरीले थारु भाषालाई स्थानीय भाषाको रुपमा मान्यता दिनुपर्छ भन्ने उद्देश्यले साङ्केतिक दबाब स्वरूप महोत्सव गर्न लागिएको बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांस्कृतिक साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकले जनाएअनुसार महोत्सवमा राष्ट्रिय कलाकार अनु चौधरीको समेत प्रस्तुति रहने छ ।








प्रतिक्रिया राख्नुहोस्