विभिन्न कार्यक्रम गरी लुम्बिनीमा पर्यटन दिवस मनाइयो

भैरहवा । आज ४२ औँ विश्व पर्यटन दिवस–२०२१ । ‘समावेशी विकासका लागि पर्यटन’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरिएको छ । लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी होटल सङ्घ, नेपाल, लुम्बिनी पर्यटन व्यवसायी सङ्घ, लुम्बिनी, बृहत्तर लुम्बिनी क्षेत्र स्थानीय पथ प्रदर्शक संस्था लुम्बिनी, महामाया रिक्सा चालक सङ्घ, लुम्बिनी र लुम्बिनी विकास मञ्च, लुम्बिनीको सहयोगमा कार्यक्रम गरिएको हो ।
सोमबार बेलुन उडान तथा दीप प्रज्वलन, मायादेवी मन्दिरमा पूजा तथा ध्यान, डुङ्गा शयर, विहार तथा मन्दिर अवलोकन, प्रकृति फोटोग्राफी वर्कशप लगायतका कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राईले बताउनुभयो । उनले यस वर्ष पर्यटन दिवस संक्षिप्त कार्यक्रम गरी मनाइएको बताउनुभयो । उहाँले पर्यटन सबैभन्दा ठूलो उद्योग भएको र यो क्षेत्रले धेरै रोजगारीको अवसर सिर्जना गरेको बताउनुभयो । ‘पर्यटन दिवस पर्यटन व्यवसायीका लागि महत्त्वपूर्ण पर्व हो, ’उहाँले भन्नु भयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले कोभिड–१९ का कारण संसारभर पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो । उहाँले करिब एक वर्षसम्म अन्तर्राष्ट्रिय पर्यटक अपेक्षित रुपमा आउन नसक्ने जस्तो देखिएकोले आन्तरिक पर्यटनलाई पहिलो प्राथमिकता दिनुपर्छ । ‘३ करोड नेपालीमध्ये १ करोड नेपाली लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदह आए पनि यसले निश्चय नै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँछ, ’उहाँले भन्नुभयो । लुम्बिनी जाऔँ मात्र भनेर नहुने भएकाले लुम्बिनीका गहकिला विषयमा कलम चलाउन सञ्चारमाध्यमलाई उनले आग्रह गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। हृदयरत्न बज्राचार्य विश्वमा शान्तिको सन्देश फैलाउने भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको आफ्नै महत्त्व रहेको बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्