पाठ्यपुस्तक खरिदमा ढिलाइ हुँदा विद्यार्थीहरू अध्ययनबाट वञ्चित
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका विद्यार्थीहरू पाठ्यपुस्तक विनै पढ्न बाध्य भएका छन् । गाउँपालिकाले पाठ्यपुस्तक खरिदमा ढिलाइ गर्दा पाँच हजार ५६ विद्यार्थी पाठ्यपुस्तक विना नै विद्यालय जान बाध्य भएका छन् । गाउँपालिकामा गाउँ सभा नभएका कारण यस्तो किसिमको समस्या आएको गाउँपालिका उपाध्यक्ष उषा मण्डलले जानकारी दिनुभयो ।
कोरोना कारण लामो समयदेखि बन्द रहेका गाउँपालिका विद्यालयहरू शिक्षा समितिको निर्णयअनुसार बिहीबारदेखि सञ्चालनमा आएका छन् । गाउँपालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएको गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । विद्यालय सञ्चालनमा आए पनि पाठ्यपुस्तक नहुँदा सप्तरीका पाँच हजारभन्दा धेरै विद्यार्थी अध्ययन गर्नबाट वञ्चित भएका छन् ।
पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरू विद्यालय आउन नमान्ने शिक्षकहरू बताउँछन् । कोरोना महामारीका कारण लामो समयपछि विद्यालय सञ्चालनमा आए पनि विना पाठ्यपुस्तक कसरी कक्षा चलाउने भन्दै शिक्षकहरूले अविलम्ब पाठ्यपुस्तक उपलब्ध गराउन माग समेत गरेका छन् ।
यसअघि आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालिकाले पाठ्यपुस्तक खरिद गर्नका २४ लाख २० हजार ६ सय ५६ रुपैयाँ विनियोजित गरे पनि समयमै गाउँ सभा नभएका कारण अहिलेसम्म बालबालिका लागि पाठ्यपुस्तक खरिद गर्न नसकेको छिन्नमस्ता गाउँपालिकाको शिक्षा शाखाका राजदेव खंग मण्डलले जानकारी दिनुभयो ।
विद्यालय सञ्चालनमा आइसकेकोले अब चाँडै नै पाठ्यपुस्तक खरिद गर्ने उहाँले जानकारी दिनुभयो । यसबारे छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नहुँदा तथा गाउँ सभा नभएका कारण बालबालिकालाई पाठ्यपुस्तक खरिद गर्न नसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्