माओवादी केन्द्रले सरकारलाई शीघ्र पूर्णता दिने विषयमा पहल गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मन्त्रिमण्डल बिस्तारमा देखिएको कानुनी जटिलता पन्छाएर सरकारलाई शीघ्र पूर्णता दिने विषयमा पहल गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समितिको बैठकले सरकार विस्तारका लागि कानुनी जटिलता, सदनसँग सम्बन्धी अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिनुभयो ।
नेता गुरुङले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानुनी जटिलतालाई समाधान गरेर अगाडि बढ्न पहल गर्ने र पाँचदलबीच छलफल गरेर निर्णयमा पुग्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
स्थायी समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउनुभएको र स्थायी समिति सदस्यको राय लिनुभएको पनि नेता गुरुङले जानकारी दिनुभयो ।
यस्तै बैठकले पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्य तालिका तय बैठकले तय गरेको छ ।
बैठकले पार्टीको टोल भेला आगामी कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आगामी मङ्सिर ४ गते स्थानीय पालिका सम्मेलन गर्ने गरी नयाँ कार्य तालिका तय गरिएको नेता गुरुङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
पालिका, वडा र टोल सम्मेलनका लागि केही समय थप गरिएको भए पनि प्रदेश र राष्ट्रिय सम्मेलनको कार्य तालिकाका बारेमा भने कुनै परिवर्तन नगरिएको पनि नेता गुरुङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्