गैर आवासीय नेपाली सङ्घ, अध्यक्षका लागि आचार्यको उम्मेदवारी घोषणा

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको आगामी कार्यकालको अध्यक्षका लागि बेलायतका कुल आचार्यले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।
काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरूको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उहाँले गैर आवासीय नेपालीहरूको पैतृक सम्पत्तिको अधिकार, राहदानीसहित तेस्रो पुस्ता पछि पनि कायम रहने गरी गैर आवासीय नेपाली नागरिकता र भूतपूर्व बेलायती सेनाको समस्या जस्ता विषयहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने बताउनु भयो ।
अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य सङ्ख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको सङ्ख्या कम्तीमा एक सय पुर्याउने घोषणा समेत गर्नु भएको छ ।
करिब दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्नो कार्य योजना सार्वजनिक गर्दै सङ्गठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको र चुनावी घोषणापत्र भने आफ्नो कार्य थलो बेलायतबाट घोषणा गर्ने बताउनु भयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका संस्थापक महासचिव भीम उदासले सकेसम्म नेतृत्व चयन सर्वसम्मतिबाट गर्न सुझाव दिनु भयो ।
यस पटकको निर्वाचनबाट नेतृत्व चुन्नका लागि विश्वभर रहेका एक लाख भन्दा बढी गैर आवासीय नेपाली संघका प्रतिनिधिहरूले अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।
आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौँमा हुने गैर आवासीय नेपाली सङ्घको दशौं महाधिवेशनले सङ्घको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
गैर आवासीय नेपाली सङ्घको अध्यक्ष पदका लागि यस अघि गैर आवासीय नेपाली संघका हालका महिला उपाध्यक्ष रविना थापाले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्