सल्यानमा सुरक्षित प्रसूति हुनेको सङ्ख्या बढ्दै

सल्यान । सल्यानमा स्वास्थ्य संस्थामै गएर सुरक्षित प्रसूति हुने महिलाहरूको सङ्ख्या बढेको छ । घरमै प्रसूति हुँदा जोखिम हुने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको सङ्ख्या बढेको हो ।
तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने क्रमिक रुपमा स्वास्थ्य संस्थामा गई प्रसूति हुनेको सङ्ख्यामा वृद्धि आएको देखिएको छ । आर्थिक बर्ष २०७५–०७६ मा जिल्लाभर ३ हजार ६ सय ४ जनाले स्वास्थ्य संस्थामै गएर प्रसूति सेवा लिएका थिए ।
यस्तै आर्थिक बर्ष २०७६–०७७ मा ३ हजार ७ सय ६९ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् भने गत आर्थिक बर्ष २०७७–०७८ मा ४ हजार ७८ जनाले सेवा लिएका छन् ।
गत आर्थिक वर्षमा जिल्लाका स्वास्थ्य संस्थाबाटै प्रसूति गराएका मध्ये ३ हजार ९ सय ५२ जनाले साधारण प्रसूति सेवा लिएका छन् । बाँकी १ सय ५६ जनाका शल्यक्रिया गरिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार स्वास्थ्य संस्थामा प्रसूति हुने दर अघिल्लो वर्षको भन्दा झन्डै ९ प्रतिशतले बढेको छ ।
कार्यालयका सूचना अधिकारी थलराज डिसीले जिल्ला अस्पताल सल्यानबाट मात्रै एक वर्षमा १ हजार ४ सय ८१ जनाले प्रसूति सेवा लिएको जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्