तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुँदै

मेलम्ची । “स्वास्थ्यका लागि खेलकुद, पर्यटनका लागि खेलकुद” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालककोटको आयोजनामा २०७८ को विजय दशमी तथा शुभ दीपावलीको शुभकामनासहित असोज २३ गतेदेखि २५ गतेसम्म रैथाने र वडा नं. ४ को कार्यालयको खेल मैदानमा प्रतियोगिता हुने भएको हो । 

प्रतियोगितामा प्रथम हुनेले पुरस्कार नगद रु ३० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दाश्रो र तेस्रो हुनेले क्रमशः नगद रु. २० हजार र १० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

वेस्ट अफ थ्री नकआउटको आधारमा खेलाइने खेलमा ए र बी पोल छुट्याएर नेपाल ब्याडमिन्टन सङ्घको नियम अनुसार खेलाइने वडाध्यक्ष राम बहादुर तामाङले बताउनुभयो । 

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले असोज २० गते साँझ ५ बजेसम्म आवेदन दर्ता गरिसक्नुपर्ने छ भने आवेदन शुल्क रु.२५ सय लाग्ने छ । 

प्रतियोगितामा सहभागी खेलाडीहरूको परिचय पत्र र सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित पासपोर्ट साइजको १ प्रति फोटो अनिवार्य गरिएको पनि तामाङले जानकारी दिनुभयो । 

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समिति र ब्याडमिन्टन सङ्घसँगको सहकार्यमा ब्याडमिन्टन खेलको विकास र ब्याडमिन्टन खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको खेलका संयोजक बाबुलाल तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button