मेल्लेखमा आधारभूत अस्पतालसँगै चिकित्सकद्वारा सेवा प्रदान

अछाम । अछामको मेल्लेख गाउँपालिकाले १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले एमबिबिएस डाक्टर सहित आधारभूत अस्पताल सञ्चालनमा ल्याएपछि स्थानीय हर्षित भएका हुन् ।
गाउँपालिकामै एमबिबिएस डाक्टरद्वारा स्वास्थ्य सेवा पाइने भएपछि त्यहाँका नागरिकलाई सामान्य जाँचका लागि पनि गाउँपालिका बाहिर बयालपाटा अस्पताल लगायतका ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।
हाल आधारभूत अस्पतालले इमर्जेन्सी सेवासँगै बहिरङ्ग र अन्तरङ्ग सेवा नियमित रूपमा प्रदान गर्दै आइरहेको छ । सामान्य बहिरङ्ग सेवा सर्वसुलभ रूपमा सशुल्क प्रदान गर्दै आएको आधारभूत अस्पतालले गर्भवती जाँच सेवा निःशुल्क रूपमा शनिवार बाहेक प्रत्येक दिन प्रदान गर्दै आएको छ ।
यस्तै अस्पतालले प्रयोगशाला सेवा समेत प्रवाह गरिरहेका छ । बिरामीको प्रकृति हेरी सशुल्क र निःशुल्क रूपमा सेवा प्रदान गर्ने गरिएको बताइएको छ ।
आधारभूत अस्पतालका प्रमुख डाक्टर देवांशु भट्टका अनुसार इमर्जेन्सी सेवा आवश्यकता अनुसार र अन्य सेवा नियमित कार्यालय समयमा प्रदान भइरहेका छन् ।
आधारभूत अस्पतालमा हाल भिडियो एक्स–रे सेवा सुरु भइसकेको छ भने एक्स(रे मेसिन समेत पुगिसकेकाले केही दिनमा सेवा सुरु गरिने डाक्टर भट्टले बताउनुभयो ।
गाउँ ठाउँमै सर्वसुलभ रूपमा अस्पतालले आवश्यक सेवा प्रदान गर्न थालेसँगै आम नागरिक समेत अस्पताल प्रति आकर्षित हुँदै गएको उहाँको भनाइ छ । अस्पतालबाट प्रदान गरिने सेवालाई थप बिस्तार गर्दै अघि बढ्न प्रयत्नशील रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका नागरिकको स्वास्थ्यप्रति संवेदनशील बनेर काम गर्ने डाक्टर भट्टले प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । अस्पतालका लागि आवश्यक सामग्री तथा सेवाहरू क्रमशः विस्तार गर्दै लैजाने गाउँपालिका प्रमुख लोक बहादुर बोहराले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्