जितिया पर्व सुरु

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेसका जिल्लाहरूमा सन्तानको सुख शान्ति, समृद्धि तथा दीर्घ जीवनको कामनासहित मनाइने हिन्दु महिलाहरूको महान् तथा कठोर व्रत जितिया पर्व आजदेखि सुरु भएको छ ।
आजदेखि विधिवत् सुरु भएको जितिया पर्व बुधवार समापन हुने छ ।
महिलाहरूले २४ देखि ३६ घण्टासम्म निराहार बसेर एक घुट्को पानी तथा कतिपयले थुक पनि ननिल्ने गरी मनाइने हुनाले यो पर्वलाई निक्कै कठोर व्रतको रुपमा लिने गरिन्छ ।
जितिया पर्वको मुख्य उद्देश्य नै शान्ति , दीर्घायु तथा परिवार जनको कल्याण गर्नु नै रहेको छ ।
यो पर्वमा झिउनी वा घिरौँलाको पातमा तेल खरी जिमुतवाहनलाई चढाउने चलन रहेको छ । कतिपय ठाउँमा बाँसको पातमा पनि चढाउने चलन रहेको छ । चढाइएको तेल जीउभरि दल्ने गरिन्छ । घरका अन्य सदस्यहरूलाई पनि सोही तेल लगाइदिने प्रचलन रहेको छ ।
जितिया पर्वको दिन एकाबिहानै महिलाहरू आचमन शुद्धि गरेर घिरौँलाका पातमा तेल लगाई त्यस माथि पिनाको अर्घ दिने गर्दछन् । त्यसपछि दिन रात उपवासमा बस्ने हुनाले भोजन गर्ने गर्दछन् । बिहान बच्चाहरू बिउँझेपछि रातिमा घिरौँलाको पातमा चढाएको नैवेद्य स्वरूपको चिउरा, दही फलफूलसहित प्रर्सादीको रुपमा खाने गरिन्छ जसलाई ओठगन भन्ने चलन रहेको छ ।
पारनका दिन अर्थात् अन्तिम दिन बिहानै उठी व्रतालु महिलाहरू नदी, पोखरी, इनार ताल तलैयामा स्नान गरी घर फर्केर बेसारको पातमा चुरा, दही, फलफूल, मटर, काँक्रा चढाएर पर्वको समापन गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्