तपाईँ सुन्दै हुनुहुन्छः

व्यास नगरपालिकाको पिसिआर प्रयोगशाला सञ्चालनमा, एक पटकमा ९६ जनाको स्वाब परीक्षण हुने

तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास–१० दुम्सीमा पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । उक्त प्रयोगशालाको बिहीबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीले उद्घाटन गर्नु भएको छ ।

सो अवसरमा मन्त्री अधिकारीले कोरोना महामारी नियन्त्रणमा तीन वटै सरकारको हातेमालो आवश्यक रहेको बताउनुभयो । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागी पोखरा पठाउनुपर्ने बाध्यता हटेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो ’’नगरपालिका दुम्सी मै ५ शय्याको कोभिड अस्पताल सुरु गरेका छौँ ।’

सङ्घीय सरकार, प्रदेश सरकार, व्यास नगरपालिका, विभिन्न सङ्घसंस्थाको सहयोगमा उक्त पिसिआर प्रयोगशाला सञ्चालनमा आएको हो । 

पिसिआर प्रयोगशालामा बुधवारबाटै परीक्षण सुरु गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’आज दिउँसो १० जनाको स्वाब सङ्कलन गरेर ल्याबमा पठाएका छौँ ।’ उहाँका अनुसार बिहान स्वाब सङ्कलन गरे सोही दिन बेलुका पिसीआर परीक्षणको नतिजा आउँछ । प्रयोगशालाबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने प्रमुख सोतिले जानकारी दिनुभयो । 

प्रयोगशाला सञ्चालनका लागि रु २५ लाख ८७ हजार सात सयमा पिसिआर मेसिन, रु दश लाख २० हजार तीन सय ९० मा जेनेरेटर, रु ५७ लाख सात हजार एक सय ७८ मा अन्य उपकरण, रु पाँच लाखमा ल्यापटप कम्प्युटर र रु पाँच लाखमा फर्निचर खरिद गरिएको छ भने पूर्वाधार निर्माणमा रु २९ लाख खर्च भएको छ । प्रयोगशालामा दुई जना विएमएलटि र तीन जना सिएमएलटिका स्वास्थ्यकर्मी नियुक्त गरिएको छ ।

पिसिआर प्रयोगशाला स्थापनार्थ रु एक करोड ७ लाख ७६ हजार प्राप्त भएको छ भने पिसिआर प्रयोगशाला सञ्चालनका लागि रु एक करोड ३२ लाख १५ हजार दुई सय ६८ खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पिसिआर प्रयोगशाला सञ्चालनका लागि सङ्घीय सरकारले रु ५० लाख, गण्डकी प्रदेश सरकारले र २५ लाख, व्यासका जनप्रतिनिधिले रु १३ लाख, कर्मचारीले रु आठ लाख, हेफर इन्टरनेशनले रु चार लाख, तनहुँ समाज हङ्गकङ र तनहुँ समाज अस्ट्रेलियाले रु दुई दुई लाख, तनहुँ उद्योग वाणिज्य सङ्घले रु तीन लाख एक हजार एक सय ५६ सहयोग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button