तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ पार्टीले देश र जनताको पक्षमा निस्वार्थ भावका साथ काम गर्छ : अध्यक्ष नेपाल

बागमती । नेकपा (एकीकृत समाजवादी)अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताउनुभएको छ ।

एकीकृत समाजवादी पार्टीको शपथ ग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको आज हेटौँडामा सम्बोधन गर्दै उहाँले देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ गठन भएको नयाँ पार्टीले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँ पार्टी गफ दिएर होइन काम गरेर जनताको मन जित्ने असल बन्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गर्नुभयो । 

देशका सातै प्रदेशमा आफ्नो पार्टीको प्रभुत्व बढ्दै गएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका उहाँले केही दिनभित्र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सरकार गठन हुने दाबीसमेत गर्नुभयो । 

सांसद एवं सो पार्टीका केन्द्रीय सदस्य विरोध खतिवडाले केपी ओलीका कारण पार्टी फुटेको आरोप लगाउँदै बिस्तारै त्यहाँका नेता तथा कार्यकर्तासमेत आफ्नो पार्टीमा आउने विचार व्यक्त गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य मुनु सिग्देलले पनि देशमा सुशासन कायम गर्न यो पार्टी खुलेको उल्लेख गर्दै यसमा युवा वर्ग बढ्दै गएको बताउनुभयो । 

पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न पार्टी त्याग गरेर आएका व्यक्तिलाई अध्यक्ष नेपालले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button