तपाईँ सुन्दै हुनुहुन्छः

कल्भर्ट निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएबी)को अवरोध

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका­ ९ ब्रह्मदेवमा कल्भर्ट निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएबी) ले अवरोध गरेको छ । 

ब्रह्मदेव बजारको पश्चिम तर्फको नेपाली भूमिमा रहेको नाला दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो । 

निर्माण रोक्न एसएसबीले दुई जना जवानलाई खटाएको छ  ।

ब्रह्मदेवको सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजारसम्म बनाउन लागिएको सडक कालोपत्रे अन्तर्गत नालामा कल्भर्ट बनाउन लागिएको हो । 

एसएसबीले अवरोध गरेपछि सात महिनादेखि कल्भर्ट निर्माण कार्य अवरुद्ध भएको छ । 

भीमदत्त नगरपालिकाले बाह्य चक्रपथअन्तर्गत सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजार पश्चिम कुनासम्म नाली सहितको ६७० मिटर सडक निर्माण गरिरहेको छ ।

“सडकअन्तर्गत नालामा कल्भर्ट बनाउन सुरु गर्दा एसएसबी आएर दशगजामा पर्‍यो भनेर काम अघि बढाउन दिएको छैन”, सडक निर्माण कम्पनी कैलाश राखी जेभीका सञ्चालक चन्द्र सिंह कार्कीले भन्नुभयो,“कल्भर्ट निर्माण गर्न दिइएको छैन। त्यो बाहेकको कार्य अगाडि बढेको छ ।”

कार्कीले सडक निर्माणका लागि एक करोड ९५ लाख रुपैयाँमा ठेक्का लिइएको बताउनुभयो । 

गत वर्षदेखि निर्माण सुरु गरिएको ठेक्का सम्झौता असोजमा सकिँदै छ ।

यसअघि भारतीय एसएसबीले ब्रह्मदेव बजारदेखि भारतीय भूमिसम्म निर्माण हुने सडक निर्माण पनि रोकेको थियो । 

एसएसबीले सीमा विवादको कारण देखाउँदै उक्त सडक निर्माणमा रोक लगाएको थियो ।

टकनपुर बाँध नजिकको नेपाली भूमिमा सडक निर्माण रोकिए पनि आफ्नो क्षेत्रमा भने भारतले पक्की सडक बनाएको छ । 

भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष राम नाथले एसएसबीले अनावश्यक रुपमा कल्भर्ट निर्माण कार्यमा अवरोध गरेको बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button