तपाईँ सुन्दै हुनुहुन्छः

झापामा चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक

timesofpradesh.com

भद्रपुर, झापा । नजिकिँदै गरेको दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय झापाले विशेष सुरक्षा योजना बनाएको छ ।

प्रहरी कार्यालय झापाले चाडपर्व अवधिमा जिल्लाभर प्रहरी परिचालनदेखि अभिमुखीकरण कार्यक्रमसम्मका विशेष सुरक्षा योजना सार्वजनिक गरेको प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालीहरूको महान् चाड बडा दशैँ, तिहार र छठ पर्वको अवधिभर झापा जिल्लाको समग्र शान्ति सुरक्षा तथा सुव्यवस्थालाई प्रभावकारी बनाउनको निमित्त प्रहरी परिचालनलाई व्यवस्थित एवं परिणाममुखी बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ ।

कोभिड– १९ बाट सिर्जित विषम परिस्थिति समेतलाई मध्यनजर गर्दै चाडपर्व मनाउने कार्यलाई थप व्यवस्थित बनाउन धार्मिक तीर्थस्थल, शक्ति पीठ, मठ मन्दिर लगायतका स्थानमा भक्तजनहरूलाई सामाजिक दूरी कायम गरी सुरक्षा व्यवस्था मिलाइने र चाडपर्वको समयमा हुनसक्ने अराजक एवम् उच्छृङ्खल गतिविधि नियन्त्रण, झैँ–झगडा, जुवा तास, चोरी, लुटपाट, भारतीय सीमा नाकाबाट हुन सक्ने तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, बैङ्क तथा वित्तीय संस्थालगायत आर्थिक कारोबार हुने स्थानहरूको सुरक्षा, कालोबजारी नियन्त्रण लगायतका क्षेत्रहरूमा थप सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

भिडभाडमा हुने स्थानमा चोरी, डकैती र लुटपाटका घटना हुन नदिन विशेष व्यवस्था मिलाइएको छ भने उद्योग, कलकारखाना, महत्त्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने सुनिश्चितता कायम गरी होटेल, लज एवं रेस्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको सुरक्षायोजनामा उल्लेख छ ।

चाडपर्वको अवधिभर जिल्लाभरि १०४३ जना प्रहरी प्रत्यक्ष रुपमा फिल्डमा परिचालन गरिने डीएसपी थापाले बताउनुभयो ।

ट्राफिक प्रहरी समेतको समन्वयमा जिल्ला भर कुल ९६ स्थानमा चेक प्वाइन्ट स्थापना गरी नियमित एवम् आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको छ । 

राजमार्गको सुरक्षा, ग्रामीण क्षेत्रको सुरक्षाको लागि विभिन्न प्रहरी युनिटहरूबाट पैदल गस्ती र २४ सै घण्टा मोबाइल गस्तीको व्यवस्था गरिएको छ भने जिल्लास्थित मुख्य चार स्थानमा स्ट्राइकिङ फोर्स परिचालनसमेतको व्यवस्था मिलाइएको छ ।

यस्तै भारतीय सीमा नाकाबाट हुन सक्ने तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रका २५ स्थानमा ३३० जना प्रहरी परिचालन गरिनेछ । 
काँकडभिट्टा, बिर्तामोड, दमक र भद्रपुरमा अवस्थित ४ वटा स्थानका बस पार्कहरूमा यात्रुहरूको गन्तव्यसम्मको यात्रामा सहजीकरणको लागि यात्रु सहायता कक्ष समेत सञ्चालन गरिने छ  । साथै, भाडामा ठगिने, लुटपाट हुने लगायतका गतिविधिलाई पूर्णतया निरुत्साहित गरिने छ । 

कोभिड–१९ लाई मध्यनजर गर्दै धार्मिक एवं मनोरञ्जन स्थलहरूमा हुन सक्ने मानिसहरूको भिडभाड नियन्त्रणको लागि नियमित प्रहरी परिचालन गरिने छ भने चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणको लागि स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन समेतलाई तीव्रता दिइने छ ।

बैङ्क वित्तीय संस्था, सुनचाँदी लगायत आर्थिक कारोबार हुने स्थानहरूमा २४ सैँ घण्टा प्रहरी परिचालनलाई सुनिश्चितता गरिएको छ भने त्यस्ता स्थानहरूमा कार्यरत निजी सुरक्षा गार्डहरूलाई सुरक्षा सम्बन्धी अभिमुखीकरण समेत सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button