तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालयका आधारभूत सेवाहरू अब पाचँपोखरी गाउँपालिकामै


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट मालपोत कार्यालय मार्फत पाउने आधारभूत सेवाहरू उपलब्ध हुन थालेका छन् ।

जिल्लामै पहिलो पटक मालपोत कार्यलयबाट दिइने सेवाहरू झन् सहज र सुलभ गराउने उदेश्यका साथ थाङपाल गाउँपालिकाबाट मालपोत कार्यालय मार्फत पाउने आधारभूत सेवाहरू उपलब्ध गराउन थालिएको हो ।

जस अन्तर्गत भू–सेवा ,स्थानीय तहबाट स्थानीयलाई लिखित पारित, अंशबन्डा, राजीनामा, नामसारी लगायत जग्गा प्रशासन सम्बन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापना गर्न लागिएको हो । बिहीबार एक अनौपचारिक कार्यक्रमकाबिच मालपोत कार्यालयका प्रमुख चण्डीराज कोइरालाले गाउँपालिकाका अध्यक्ष टासी लामालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

भू–सेवा केन्द्रको प्रमाणपत्र लिँदै गाउँपालिकाका अध्यक्ष लामाले सदरमुकाम चौतारामा रहेको मालपोत कार्यालयबाट प्रदान हुने सेवाहरू बिस्तारै गाउँपालिकाबाटै स्थानीयलाई उपलब्ध गराउन लागिपरेको बताउनुभयो ।

कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू–सेवाको काम अब स्थानीयतहबाटै हुने र केन्द्रबाट उपलब्ध गराइने सेवा सुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्र सहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने लामाले जानकारी दिनुभयो । प्राविधिक सामाग्री सहित जनशक्तिको व्यवस्थापन गरी भू–सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदाय स्तरमा समेत प्रचारप्रसार गरिने उहाँले बताउनुभयो । भू–सेवा केन्द्रमा स्मार्ट मालपोतको अभ्यास गरिने प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button