तपाईँ सुन्दै हुनुहुन्छः

गार्डेन मार्टमा संयुक्त बजार अनुगमन टोलीको छापा

सुर्खेत ।  जिल्ला संयुक्त बजार अनुगमन टोली सुर्खेतले वीरेन्द्रनगर स्थित गार्डेन मार्ट डिपाटमेन्टल स्टोरमा छापा मारेको छ । 

आम नागरिकबाट कमसल वस्तु विक्री वितरण भइरहेको गुनासो आएपछि बजार अनुगमन टोलीले गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरमा छापा मारेको हो । 

टोलीले अनुगमनका क्रममा डिपार्टमेन्टल स्टोरबाट न्यून गुणस्तरको १६ पोका काजु बरामद गरेको छ । 

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित डिपार्टमेन्टल स्टोरबाट करिब २६ हजार मूल्य बराबरको किरा परेका काजु बरामद गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताउनुभयो । 

उहाँले पहिलो पटकको हकमा चेतावनी दिएर छोडिए पनि फेरी कमसल वस्तु विक्री गरेको पाइएमा ५० हजारदेखि ५ लाख रुपैयाँ जरिवानासहित ५ वर्ष कैद गरिने कानुनी व्यवस्था रहेको जनाउनुभयो । 

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरेन्द्रनगर नगरपालिका, नगर  प्रहरी, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button