बनगाड कुपिण्डेका विद्यालय आजबाट खुले

सल्यान । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय खुलेका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण बन्द भएका विद्यालय शैक्षिक सत्र सुरु भएको झन्डै ६ महिना पछि सञ्चालनमा आएका हुन ।
कोरोना भाइरसको संक्रमण केही कम भएकाले कोरोनाका स्वास्थ्य मापदण्ड पुरा गर्दै विद्यालय सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
शिक्षा तथा प्रविधि मन्त्रालयले तयार पारेको विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ बमोजिमका प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा गरी बिहीबारबाट पालिकाका सबै विद्यालय सञ्चालनमा ल्याएको नगरपालिकाकी धुर्वा कुमारी थापाले बताउनुभयो ।
बुधवार बसेको नगर कार्यपालिकाको बैठकले बिहीबारबाट विद्यालय खोल्ने निर्णय गरे अनुसार विद्यालयमा सञ्चालन गर्न थालिएको उहाँको भनाई छ ।
नगरपालिकामा सामुदायिक र संस्थागत गरी ६५ विद्यालय रहेका छन् ।
स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने गर्ने गरी नियमित रुपमा कक्षा सञ्चालन भएको थापाको भनाई छ ।
यसअघि शारदा नगरपालिका, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी र कालीमाटी गाउँपालिकाले विद्यालय सञ्चालन गरी सकेका छन् ।
कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आइरहेको छ ।
सरकारले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न खोजे पनि इन्टरनेट र फोनको सबैमा पहुँच नहुँदा प्रभावकारी हुन सकिरहेको थिएन ।








प्रतिक्रिया राख्नुहोस्