सीमा नाका खोल्ने सरकारको निर्णयसँगै जनकपुरधामका व्यवसायीहरू उत्साहित
जनकपुरधाम । नेपाल सरकारले नेपाल भारतको सीमा नाका खुल्ला गर्ने निर्णय गरेपछि जनकपुरधामको व्यापारी तथा पर्यटन व्यवसायीहरू खुसी भएका छन् ।
जनकपुरधामका पर्यटन व्यवसायीहरू भारतीय सीमा खुल्ला भएपछि जनकपुरधाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने आसा गरेका छन् ।
कोरोना महामारीका कारणले नेपाल भारतको सीमा नाका विगत दुई वर्षदेखि बन्द हुँदा भारतीय पर्यटकहरू आउन कमी भएको थियो ।
अहिले कोरोना महामारी कम भएपछि नेपाल सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भारतको अन्तर्राष्ट्रिय सीमा नाका खुल्ला गर्ने निर्णय गरेका थियो ।
कोरोना महामारीको अवस्था अहिले दुवै देशमा सामान्य हुँदै गएकोले सरकारले सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले सीमा नाका खुल्ला भएपछि भारतसँगको व्यापार व्यवसायमा सहजता हुने बताउनुभयो ।
उहाँले दुवै देशमा कोरोना महामारी नियन्त्रण उन्मुख भएकाले सीमा नाका खोल्ने सरकारको निर्णय स्वागत योग्य भएको बताउनुहुँदै यसको शीघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटन व्यवसायी सन्तोष साहले सीमा नाका खुल्ला भएपछि जनकपुरधामको धार्मिक पर्यटन प्रबद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जनकपुरमा विगत दुई वर्षदेखि धार्मिक पर्यटक आगमनमा निक्कै कमी आएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले कोरोनाका कारणले बन्द रहेको नेपाल भारतको अन्तर्राष्ट्रिय सीमा नाका खुल्ला भएपछि जनकपुरधामको भ्रमणमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो ।
उहाँले विगत दुई वर्षदेखि कोरोना महामारीका कारणले नेपाल भारतको सीमा नाका बन्द भएका कारणले धार्मिक पर्यटकको आगमनमा व्यापक मात्रामा कमी आएको बताउनुभयो ।
जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनाका लागि भारतको सीमावर्ती राज्यका अतिरिक्त उत्तराखण्ड, गुजरात, दिल्ली, मद्रास, आन्द्रप्रदेश, हिमाचल सहितका राज्यहरूबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्