तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको छुट्टाछुट्टै ठाउँमा पानीमा डुबेर तीन जनाको मृत्यु

राजविराज । छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एकै दिन तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका, महादेवा र तिलाठीकोइलाडी गाउँपालिकामा एक/एक जनाको डुबेर मृत्यु भएको हो ।

खडक नगरपालिका वडा नम्बर ८ मुसहरिनयाँमा तीन वर्षीय बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय राजेशकुमार चौधरीकी छोरी एलिजाकुमारी चौधरीको घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो । पोखरीमा डुबेको अवस्थामा उहाँलाई उनकै काका रामकुमार चौधरीले निकालेर उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

महादेवा गाउँपालिका वडा नम्बर ४ परसाही टोलकी एक युवतीको पोखरीमै डुबेर मृत्यु भएको छ । सार्वजनिक पोखरीमा भाडा मसकाउन (माझ्न) गएकी ३० वर्षीय लक्षणकुमारी सदाको पोखरीमा लडेर मृत्यु भएको हो । अविवाहित रहेकी उहाँलाई छारे रोग थियो । पानीमा अचानक लडेकी उहाँको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो ।

यस्तै, तिलाठी कोइलाडी गाउँपालिकामा एक बालिकाको नहरमा डुबेर मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ लौनियाकी १२ वर्षीय सबना खातुन घर नजिकैको नहरमा कपडा धुने क्रममा पानीमा डुबेकी थिइन् । त्यही क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र तीनै जनाको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button