तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीको रिटमा अन्तरिम आदेश भएन

file photo

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग र संसद् सचिवालयसँग निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश द्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै यस्तो आदेश दिएको हो । 

इजलासले सोमबारदेखि दुवै तर्फका कानुन व्यवसायीको जारी बहस टुङ्ग्याउँदै नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय र १४ सांसदलाई कारबाही गर्नु नपर्ने गरी सभामुखले लिएको निर्णयको सक्कल फाइल झिकाएको छ । 

अदालतले लुम्बिनी प्रदेशसभाका २ सांसदको विषयमा प्रदेश सभाका सभामुखले गरेको निर्णयको सक्कल फाइल मगाउन र निर्वाचन आयोग समेतलाई विपक्षी बनाई उत्प्रेषणको आदेश माग गर्दै नेकपा अध्यक्ष ओलीले दायर गर्नुभएको रिट निवेदन समेत सँगै पेशी तोक्न आदेश दिएको छ । 

सो रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अन्तरिम आदेश नहुने ठहर गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो । 

माधवकुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button