उपभोक्ता ठगी गर्ने मसला उद्योगका सञ्चालक पक्राउ

बीरगंज । बीरगंज स्थित अन्नपूर्ण मसला उद्योगले बीएमपी स्पाईसेसको स्टिकर टाँसेर आफूले उत्पादन गरेको मसला बिक्री वितरण गरेको आरोपमा प्रहरीले उद्योगका सञ्चालक रोहित साह कानुलाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ निवासी कानुलाई अन्नपूर्ण मसला उद्योगका मसलाहरूमा वीरगञ्ज महानगरपालिका वडा नं.२८ सबैठवामा रहेको बीएमपी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाइनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानमा अन्नपूर्ण उद्योगले मसला विक्री वितरण गरेको उजुरीको आधारमा रोहित साह कानुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
साहले प्रतिलिपि अधिकार ऐन विरुद्धको कार्य गरी बढी मुनाफा कमाउन उपभोक्तालाई ठगी गरेको समेत खनालले बताउनुभयो ।
प्रहरीले अन्नपूर्ण मसला उद्योगबाट बीएमपी स्पाईसेसको स्टिकर टाँसेका ६ सय ५४ पोका मसला, १० बोरा कच्चा पदार्थ तथा मसला पिस्ने मेसिन एक थान तथा चटकेर बीएमसी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाइनर लेबलहरू समेत बरामद गरिएको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।
पक्राउ परेका कानुलाई प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्