तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेका अध्यक्ष ओलीको रिट निवेदनमा सुनुवाइ जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गर्नुभएको रिट निवेदनमा आज पनि सुनुवाइ भइरहेको छ ।

सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने हो या होइन भन्नेबारे आज पनि बहस जारी छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा विपक्षी तर्फका कानुन व्यवसायीहरूले बहस गरी रहनुभएको छ ।

सोमबार निवेदक पक्षका कानुन व्यवसायीको बहस विपक्षी तर्फका कानुन व्यवसायीले बहस सुरु गरे पनि टुङ्गिएको थिएन ।
आज विपक्षी तर्फका कानुन व्यवसायीको बहस सकेर जवाफी बहस हुने र इजलासले अन्तरिम आदेश दिने ÷नदिने बारेमा फैसला गर्ने सम्भावना छ ।

पार्टीबाट कारबाही गरिएका १४ सांसद समेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोग विरुद्ध र पार्टीले कारबाही कार्यान्वयन नगराएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
तत्कालीन प्रधानमन्त्री ओलीले गत वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिँदा अनुपस्थित भएर ह्विप उल्लङ्घन गरेका मध्ये पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न पनि रिट निवेदनमा माग गर्नुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश जबराको इजलासमा

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध रिट निवेदनको सुनुवाइ आफ्नै इजलासमा तोक्नुभएको छ ।

तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट प्रधानन्यायाधीश जबराले आफ्नै इजलासमा राख्नुभएको हो ।

आजको इजलासको पहिलो नम्बरमा परेको सो रिट निवेदन यसअघि पनि प्रधानन्यायाधीश जबराले आफ्नै इजलासमा पेसी तोकेर पनि सुनुवाइ भने हुन सकेको थिएन ।

गैर कानुनी रुपमा सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाएको दाबी गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सो निर्णय बदर गरी आफूलाई यथावत् राख्नुपर्ने माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button