तपाईँ सुन्दै हुनुहुन्छः

नेपालसहित १४ सांसदको पद खारेजीको माग राख्दै दायर मुद्दाको सुनुवाइ आज पनि हुने

file photo

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेजी गर्न माग राख्दै दायर गरिएको मुद्दाको सुनुवाइ आज पनि हुँदै छ ।

सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलास बहस नसकिएपछि उक्त मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेपालसहित १४ सांसदलाई गरेको कारवाही कार्यान्वयनको माग गर्दै निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

एमालेले १ भदौमा संसद सचिवालयमा सांसदमाथिको कारवाहीको निवेदन दर्ता गरेको थियो । सभामुख सापकोटाले कार्वहीको सूचना टाँस नगरी विचाराधीन राखिराख्दा एमाले विभाजन भएको थियो । कारवाही विचाराधीन रहेकै बेलामा माधव नेपालले नयाँ पार्टी दर्ता गर्नुभएको थियो । अहिले सभामुख सापकोटाले नयाँ पार्टी दर्ता भइसकेको भन्दै कारवाही गर्नु नपर्ने निर्णय गर्नुभएको छ ।

एमाले १४ जना सांसदलाई कारवाही गरेको पत्र पठाए पनि सांसद पद निलम्बन नगरेर सभामुख पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै आएको छ । १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button