आज सात जिल्लामा कांग्रेसको वडाअधिवेशन हुने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार सात जिल्लामा वडा अधिवेशन हुने भएको छ ।
गत भदौ १८ देखि शुरु भएको कांग्रेसको वडा अधिवेशन ५७ जिल्लामा सकिएको छ । ढिलो गरी क्रियाशील सदस्यता सार्वजनिक भएका काठमाडौंसहित थप सात जिल्लामा मंगलबार वडा अधिवेशन हुन लागेको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरामा वडा अधिवेशन हुनेछ । सात वटै जिल्लामा वडा अधिवेशनका लागि निर्वाचन अधिकृत पठाइसकेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।
तर अझै १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । प्रदेश दुईका आठ वटै जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेत र रोल्पाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी भएका कारण वडा अधिवेशन हुन सकेको छैन । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्