‘महामारी नियन्त्रणका लागि थप सहयोगको आवश्यकता’
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैङ्कबाट नेपाललाई थप सहयोगको आवश्यकता औँल्याउनुभएको छ ।

सोमबार अर्थ मन्त्रालयमा विश्व बैङ्कको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले विश्व बैकले नेपाललाई पुर्याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिनुहुँदै थप सहयोग आवश्यक रहेको बताउनुभएको हो ।
अर्थमन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैङ्कको थप सहयोग आवश्यक रहेको बताउनुभयो ।
नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र सडकको सञ्जालको माध्यमबाट गरिबी घटाउन विश्व बैङ्कको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटका अवसरमा बैङ्कका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपाललाई प्रदान गरिने सहयोगलाई वृद्धि गर्न नेपालले गरेको प्रस्तावमा विश्व बैकको बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा बैङ्कका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैङ्कको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गर्नुभयो । उहाँले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैङ्कले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैङ्कको प्रतिनिधि मण्डलले अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्