तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशले सार्वजनिक गर्‍यो १०० दिनको प्रगति विवरण

कास्की । गण्डकी प्रदेश सरकारले आफ्नो एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । 

आज पोखरामा आयोजित पत्रकार सम्मेलन गरी सरकारले प्रदेशभित्र गत असारदेखि बाढी प्रभावित क्षेत्रमा राहत तथा क्षतिपूर्ति वितरणलाई राम्रोसँग सञ्चालन गरेको जनाएको छ ।  

प्रदेशभित्र रहेका ६ लाख ८५ हजार मानिसहरूले कोरोनाको पहिलो खोप प्राप्त गरेका छन् भने ५ लाख दोस्रो खोप लगाएको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बताउनुभयो । 
उहाँले नेपालमै पहिलो पटक मनाङ र मुस्ताङलाई कोरोनाको पूर्ण खोप लगाएको जानकारी दिनुभयो । 

उहाँले गत जेठ २९ गते आफ्नो नेतृत्वमा गठन भएको सरकारले पद बहाली गरेकै दिन घोषणा गरिएको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क उपचार गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । 

प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको आचारसंहिता प्रदेश सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउनुलाई उपलब्धि  ठानेको छ । 

हालसम्म बाढी पहिरोको कारण पूर्णरुपमा क्षति भएका घरहरूको पुनर्निर्माण लागि प्रति घर रु. एक लाखका दरले राहत सहयोग उपलब्ध गराएको छ ।  सोही अनुरूप विभिन्न जिल्लाका जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी रु १ करोड ३७ लाख उपलब्ध गराइएको जनाएको छ । 

उहाँले गत आर्थिक वर्षको बाढी पहिरोबाट क्षतिग्रस्त निजी आवासहरूको पुनर्निर्माण लागि प्रदेशले रु ६ करोड ७ लाख २० हजार विभिन्न जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको जानकारी दिनुभयो । 

प्रदेश सरकारले  विकास समस्या समाधान समितिको बैठक बसेर राष्ट्रिय विकास समस्या समाधान समितिमा लैजाने विषय पहिचान गरेको उहाँले उल्लेख गर्नुभयो । 

“गण्डकी प्रदेशलाई सडक मानवमुक्त बनाउन सडक आश्रित सहयोगापेक्षी मानव उद्धार, पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरिएको छ । अब गण्डकी प्रदेश सडक मानवमुक्त हुनेछ भन्नेमा हामी विश्वस्त छौँ” उहाँले भन्नुभयो 
गण्डकी प्रदेश सरकार सातै प्रदेश मध्ये आफ्नो शिक्षा नीति, निमार्ण गर्ने पहिलो प्रदेश बनेको दाबी समेत सरकारले गरेको छ । 

बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधिमा आवश्यक संशोधनको कार्य अन्तिम चरणमा रहेको छ । प्रदेश सरकारले प्रादेशिक ऊर्जा नीति तयारी गरेको छ । आधारभूत खानेपानी मार्फत थप २.३३% जनसङ्ख्या समेत गरी हालसम्म कुल ९३.६३% जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी पहुँच पुगेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । 

प्रदेशसभाले पारित गरेका ४८ वटा कानुन (ऐन) कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न कार्यदल गठन गरेको बताउनुभयो । 
चाडपर्व लक्षित मूल्यवृद्धिलाई ध्यानमा राखी स्थानीय प्रशासनसँगको सहकार्यमा विभिन्न जिल्लाका बजार अनुगमनलाई पनि प्रदेश सरकारले महत्त्वपूर्ण कार्य ठानेको छ । 

उहाँले नवलपुरमा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको लागि आवश्यक पहल भएको बताउनुभयो । 

कोभिड–१९ प्रभावित पर्यटन व्यवसायी र उद्योगी व्यवसायीहरूको राहतका लागि पुनरुत्थान योजना निर्माणको चरणमा छ । 

विशिष्टीकृत पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्यले तनहुँ र कास्की जिल्लामा मोडल भेटेरिनरी अस्पताल, बीउ बिजन प्रयोगशाला भवन निर्माण, पशुमा लाग्ने मुख्य सङ्क्रामक रोगहरू विरुद्ध वृहत् खोप अभियान सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको पोखरेलले बताउनुभयो । 

प्रदेश सरकारले यो अवधिमा २० किमी सडक कालोपत्रे, १० किमी सडक ग्राभेल गरिएको जनाएको छ  । 

सङ्क्रामक तथा सरुवा रोग अस्पताल, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र गण्डकी विश्वविद्यालयको भवन निर्माणको काम सुरु भएको बताउनुभयो ।

प्रदेशसभा भवन निर्माणका लागि काम सुरु गरेको भन्दै प्रदेश सरकारले यस अवधिमा ४४ करोड ५१ लाख ५९ हजार राजश्व सङ्कलन गरिएको छ ।  

गण्डकी प्रदेश युवा नीतिको प्रदेशमा रहेका २ सय ९० तालहरूको तथ्याङ्क, प्रतिवेदन फेवातालले चर्चेको जग्गाबारे विस्तृत प्रतिवेदन तयार भई सङ्घीय सरकारलाई हस्तान्तरण भएको जनाएको छ । 

गण्डकी प्रदेश श्रम तथा रोजगार नीतिको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान नियमावली र आर्थिक प्रशासन नियमावलीको मस्यौदा तयार गरिएको छ भने सामाजिक विकास कार्यालय ११ वटै जिल्लामा सञ्चालन गरिएको जनाइएको छ । 

जनताको विकास चाहना समृद्ध प्रदेश निर्माणको हाम्रो साझा लक्ष्य हासिल गर्न धेरै काम गर्न बाँकी रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button