कर्मचारी नहुँदा इप्रका सुपौलीमा सेवा प्रवाहमा कठिनाइ

बीरगंज । इलाका प्रशासन कार्यालय सुपौलीमा कर्मचारी नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको छ ।
कार्यालयमा प्रशासकीय अधिकृतको दरबन्दी भए पनि हाजिर नभएका हुँदा नागरिकता बनाउन आएका सेवाग्राही प्रभावित हुने गरेका छन् ।
जिराभवानी गाउँपालिका वडा नं २ सेवा निवासी लक्ष्मी दासले कार्यालयमा नागरिकता बनाउन आवश्यक कागजात जम्मा गरी कुपन लिएको तेस्रो आइतबार अर्थात् तिन सातापछि नागरिकता लिन सफल भएको बताउनुभयो ।
कार्यालयले कागजात दर्ता गराउने क्रममा भिडभाड नहोस् तथा सेवाग्राहीलाई दैनिक सास्ती भोग्नु नपरोस् भनी कुपन नम्बर दिएर तोकेको दिनमा आउन भन्ने गरेको थारुको भनाई रहेको छ ।
त्यस्तै पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ निचुटा निवासी लालबाबु चौधरीले नागरिकता बनाउन काठमाडौँबाट आएर इलाका प्रशासन कार्यालय सुपौलीमा जाँदा निकै समय लाग्ने भएकाले रितै फर्केको बताउनुभयो ।
निजी कार्यालयमा काम गर्दै गरेका चौधरीले सुपौलीमा नागरिकता बनाउन महिना दिनभन्दा बढी समय लाग्ने गरेका हुँदा सेवाग्राहीहरू निकै कठिनाइ भोग्नुपरेको गुनासो गर्नुभयो ।
ग्रामीण जनतालाई सजिलै सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका इलाका प्रशासन कार्यालय सुपौलीमा सेवा प्रभावकारी नहुँदा सास्ती भोग्नुपरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
यसका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले इलाका प्रशासन कार्यालय सुपौलीमा अधिकृत बस्न नमानेका कारण समस्या भएको बताउनुभयो ।
यहाँको समस्याका बारेमा गृह मन्त्रालय समेत जानकार रहेको र मन्त्रालयले अधिकृत नपठाउँदा समस्या भएको बताउनुभयो ।
सेवा प्रवाह बन्द नहोस् भनी जिल्ला प्रशासनबाट साताको एक दिन प्रशासकीय अधिकृत पुगेर जनताको एक साताका सम्पूर्ण काम गरेर फर्कने गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
इलाका प्रशासन कार्यालय सुपौलीले जिल्लाको ठोरी, जिराभवानी, पटेर्वासुगौली र जगरनाथपुर गाउँपालिकाका सर्वसाधारणहरूलाई नागरिकता, समावेशी प्रमाणित लगायतका सेवा प्रदान गर्दै आएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा नागरिकता बनाउने तथा मतदाता नामावलीका लागि फोटो खिच्न जानेको भिड लाग्ने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्