तपाईँ सुन्दै हुनुहुन्छः

ठोरीमा स्थापित सर्प दंश उपचार केन्द्रको सेवा प्रभावकारी

बीरगंज । पर्साको ग्रामीण भेगमा सर्प दंशका घटना वृद्धि भएसँगै ठोरीमा स्थापना भएको सर्प दंश उपचार केन्द्रको सेवा प्रभावकारी साबित हुँदै गएको छ । 

ठोरीस्थित सर्प दंश उपचार केन्द्रमा विगत दुई महिनामा ७६ जना सर्प दंशका घाइतेहरू उपचारका लागि आएको र उनीहरूको सकुशल उपचार गरिएको केन्द्रले जनाएको छ । 

विशेष गरी ठोरी, जगरनाथपुर, जिराभवानी, पटेर्वासुगौली गाउँपालिकाका सर्प दंशबाट घाइतेहरू उपचारका लागि ठोरी पुग्ने गरेका छन् । 

ठोरी गाउँपालिका वडा नं ४ मा रहेका नेपाली सेनाको सिद्धिबक्स गण निर्मलबस्ती पानीटंकीमा २०७६ फाल्गुन १८ गतेबाट स्थानीय प्रशासनसँग अनुमति लिएर उपचार सेवा सुरु भएको हो । 

उपचारका केन्द्र प्राविधिक नागेन्द्र मुडभरेका अनुसार  अहिलेसम्म सो केन्द्रमा २ सय ४ जनालाई सर्प दंशका घाइतेको  उपचार भएको र सो क्रममा अहिलेसम्म सिकिस्त घाइते एक जनाको मात्रै मृत्यु भएको छ । 

ठोरीमा चितवनको माडी नगरपालिका देखिएका विषालु सर्पले टोकेका घाइतेहरू आउने गरेका छन् । 

सर्प दंश उपचार केन्द्रका संस्थापक अध्यक्ष मानबहादुर श्रेष्ठले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्ष रहेका बेला नेपाली सेनाको समन्वयमा केन्द्रको स्थापना गरिएको बताउनुभयो । 

सर्प दंश उपचार केन्द्रको व्यवस्थापनका लागि ठोरी गाउँपालिकाको कार्यालय, सयपत्री बचत तथा ऋण सहकारी संस्था बिजयबस्ती तथा अन्य सङ्घ संस्थाले सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 


बिरामीको उपचारका लागि आवश्यक एन्टीस्नेक भेनम स्वास्थ्य व्यवस्थापन कार्यालय हेटौडाबाट निःशुल्क ल्याउने गरेको र पर्सा जिल्लामा नारायणी अस्पतालको स्नेक बाइट वार्ड बाहेक ठोरीमा एक मात्र सर्प दंश उपचार केन्द्र रहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button