बुटवलको ज्योतिनगरमा पहिरोले थप ९ वटा घर पुरियो

रुपन्देही । अविरल वर्षाका कारण बुटवल ३ ज्योतिनगरमा पहिरोले थप ९ वटा घर पुरिएको छ।
यसअघि गएको भदौ १३ गते पहिरोका कारण सोही ठाउँका ७ वटा घर पुरिएका थिए । २० वटा घरमा लेदो सहितको पहिरो पसेको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले ७ घर पुरिएको र १ दर्जनभन्दा बढी घरमा लेदो सहितको पहिरो खसेको बताउनुभयो ।
आइतबारदेखि परेको अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा फेरि पहिरो झर्न थालेको छ। निरन्तर पानी परिरहेकोले अहिले पनि उक्त क्षेत्रमा ढुङ्गा सहितको लेदो झरिरहेको प्रहरीले जानकारी दिएको छ ।

ज्योतिनगर र लक्ष्मीनगरमाथि चुरेको शिरमा ध्वजा फाटेर २०५५ सालदेखि नै पहिरो झर्न थालेको हो। त्यतिवेला पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ वर्षपछि अहिले फेरि पहिरो झरेपछि यहाँका स्थानीय त्रसित बनेका छन्।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो। बस्तीमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको उहाँले जानकारी दिनुभयो।
पहिरोले सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको छ भने सडक किनारमा राखिएका बिजुलीका पोल पनि बगाएको छ।
बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिङ्गो बुटवल नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन्।









प्रतिक्रिया राख्नुहोस्